चुरोट र रक्सी बोकेर विद्यालय जानेलाई पुरस्कार

पर्वत – कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीलाई विद्यालयबाट घर फर्कंदा भोलिपल्ट गृहकार्य गरेर आउन अह्राउने गर्छन्, तर पर्वतको चित्रे गाविसमा अवस्थित एक विद्यालयले भने आफ्ना छात्रछात्रालाई गृहकार्यसँगै घरमा भएका चुरोट र रक्सी बोकेर आउन अनुरोध गर्ने गरेको छ ।


शिक्षकको आज्ञाअनुसार छात्रछात्रा पनि घरमा भेटेजति चुरोट र रक्सी बोकेर विद्यालय जाने गरेका छन् । तर, उनीहरुले कसैको लत मेटाउन भने यसो गरेका होइनन् ।


जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको पञ्चकोसी माध्यमिक विद्यालयले बालबालिकाका आमाबाबुले प्रयोग गर्ने चुरोट तथा मदिराजन्य पदार्थ विद्यालय पुर्‍याउने विद्यार्थीलाई पुरस्कार दिने भएपछि उनीहरुले यस्तो गर्ने गरेका हुन् ।


विद्यालयले गाउँलाई धूमपान तथा मद्यपान निषेधित क्षेत्र बनाउनका लागि यस्तो अभियान सुरु गरेको हो । धूमपान र मद्यपानले बालबालिकामा समेत सिको गर्ने नराम्रो बानी बस्ने खतराले गर्दा पुरस्कारै स्थापना गरेर अभियानको थालनी गरेको शिक्षक मधुसुधन अधिकारीले बताउनुभयो ।