राजविराज – वरिष्ठ गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले मुलुकमा अझै गणतन्त्र संस्थागत नभएकोले यसको लागि क्रान्तिको आवश्यक्ता रहेको विचार ब्यक्त गरेका छन् ।
पुनर्गठित नेकपा माओवादी सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको जनसभामा उनले गणतन्त्रको संघर्ष रक्तिम पर्व भएकोले यसको रक्षाका लागि क्रान्ति गर्न पछि हट्न नहुने बताए । ‘मुलुकमा ऐतिहासीक परिवर्तनबाट गणतन्त्रको घोषणा त भयो’ उनले भने, ‘तर यो अझै संस्थागत हुन नसकेकोले थप क्रान्तिको विकल्प छैन ।’
समयमै संविधान वन्न सके मात्र गणतन्त्र वलियो हुने भएपनि राजनीतिक दलहरु यसप्रति गम्भीर हुन नसकेको टिप्पणी गर्दै सिंहले यसलाई पुनर्गठित माओवादीका संयोजक मातृका यादवले पुर्णता दिने विश्वास व्यक्त गरे । उनले भने-‘गणतन्त्रलाई दिगो राख्न संविधान चाहिन्छ, तर संविधान समयमा वन्न नसकेकोले अझै क्रान्तिको आवश्यक्ता छ ।’
जनसभालाई सम्वोधन गर्दै पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका प्रसाद यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल जनयुद्ध दिवसका नाममा चियापानको आयोजनामा अल्मलिएको भन्दै जनयुद्धको मर्मलाई समेत उनले बिर्सिएको आरोप लगाए ।
संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरु पद र पैसामै लिप्त रहेकोले मुलुकमा सशक्त क्रान्तिको आवश्यक्तामा उनले जोड दिए ।



