निर्वाचन आयोगद्वारा मताधिकारबाट कोही पनि वञ्चित नहुन भन्नका लागि जेलमा पनि मतदान केन्द्रको व्यवस्था गर्ने

काठमाडौं – संचारमाध्यमहरुमा जनाइए अनुसार निर्वाचन निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन फोटोसहित मतदाता नामावली संकलन गरिरहेको निर्वाचन आयोगले मताधिकारबाट कोही पनि वञ्चित नहुन भन्नका लागि जेलमा पनि मतदान केन्द्रको व्यवस्था गर्ने भएको छ ।

निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले लोकतन्त्रमा कोही पनि मताधिकारबाट वञ्चित हुन नदिन जेलका कैदीका लागि मतदानको व्यवस्था गर्न लागेको बताए । ‘मताधिकार सबैको अधिकार हो,’ उनले भने, ‘अस्पतालका बिरामी, अनाथालय, वृद्धाश्रमलगायत स्थानमा मतदान केन्द्र गर्ने कार्यक्रम छ ।’

उनका अनुसार पच्चीस जनाभन्दा बढी कैदी भएको जेल, अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा मतदान केन्द्रको व्यवस्था गरिने छ ।

आयोगको पाँचवर्षे रणनीतिक योजनाअन्तर्गत निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली संकलन गर्न लागिएको आयोगका कार्यवाहक आयुक्त नीलकण्ठ उप्रेतीले बताए ।

मतदाता नामावलीमा सुधार गर्नका लागि आयोगले पाँच जिल्ला र सात गाविसमा परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । परीक्षण कार्यक्रमअन्तर्गत ५९ प्रतिशत मतदाताले नाम दर्ता गराएको आयोगको आफ्नो तथ्यांकमा उल्लेख छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत त्रिचालीस जिल्लाका ५८ वटा नगरपालिकामा आयोगले नामावली संकलन गरेको थियो । केही नगरपालिकामा भएको विरोधबाहेक साठी प्रतिशत मतदाताको नामावली संकलन गरिएको उपे्रतीले बताए । ‘तराईका केही नगरपालिकामा विरोधबाहेक अन्य स्थानमा नामावली संकलनमा आयोग सफल भएको छ,’ उनले भने । दोस्रो चरणमा ५६ र तेस्रो चरण १९ जिल्लाका सबै गाविसमा नामावली संकलन गरिने आयोगले जनाएको छ । २०६८ असारसम्म अन्तिम नामावली तयार गर्ने आयोगले लक्ष्य लिएको छ ।