दुई दिनदेखि लगातार भएको वर्षापछि हुम्ला र बाजुरामा हिमपातले जनजीवन प्रभावित


 

हुम्ला / बाजुरा – प्राप्त समाचार अनुसार  दुई दिनदेखि लगातार भएको वर्षापछि बाजुरा बाक्लो हिमपात भएको छ । हिमपातले सदरमुकाम लगायत पूर्वोत्तर क्षेत्रका अधिकांशगाविसका बासिन्दाको जनजीवन प्रभावित भएको छ । 

बाजुरा सदरमुकाम मार्तडी, पाण्डुसने, दहकोट, मानाकोट लगायत पूर्वोत्तर क्षेत्रका सबैधसो गाविसमा बाक्लो हिमपात जमेको छ । पाण्डुसेन र ढम्कनेमा एक फिट सम्मको हिमपात जमेकाले सदरमुकाम मार्तडीसंग कोल्टी क्षेत्रको आवागनम समेत अवरुद्ध भएको छ । लगातारको वर्षा र हिमपातका कारण यो क्षेत्रका विद्यालयहरु समेत बन्द भएका छन् । हिमपातकै कारण जिल्लाको सञ्चार सेवा समेत अवरुद्ध छ । लगातारको वर्षाका कारण एकाएक जाडो समेत बढेको छ ।

लामो समयको खडेरीपछि वर्षा मात्र भएको क्षेत्रका बासिन्दाले राहत महशुस गरेका छन् भने हिमपात भएको क्षेत्रका कृषकहरु भने भएको बाली समेत नष्ट हुनेमा चिन्तित देखिएका छन् ।

हिमपातग्रस्त क्षेत्रका बासिन्दाले यो बेला हिमपात हुँदा खेती बालीमा असरपर्ने बताउँछन् । हाल गहुँ लगाएतका अन्न बाली फक्रि सकेकाले हिमपात हुँदा बाली मर्ने किसानहरु बताउँछन् । ढम्कनेका रामबहादुर बोगटी भन्छन्, ‘खडेरीबाट बाँचेको बाली समेत हिमपातले नाष्ट हुने भो ।’ यता वर्षा मात्र भएको क्षेत्रका बासिन्दाहरु भने वर्षाले जनजीवनमै केहि राहत भएको बताए ।   

फागुन सम्ममा पानी नपरे हिउँदे उत्पादनमा ७० प्रतिशत कमी आउने भन्दै यस क्षेत्रमा धेरै ठूलो खाद्यान्न संकट हुनेमा कृषि विकास कार्यालयका कृषि प्राविधिकहरुले सर्वसाधारणलाई सचेत गराई रहँदा हाल वर्षा मात्र भएको क्षेत्रको उत्पादनमा केहि सहयोग पुग्ने उनीहरुले बताएका छन् ।

हुम्लामा हिमपात
संचारमाध्यमहरुमा जनाइए अनुसार   हिमाली जिल्ला हुम्लामा पुनः हिमपात भएको छ ।  यस भन्दा पहिले माघ महिनामा   चार पटक हिमपात भएको थियो ।  पछिल्लो समय सोमबार देखि हिमपात भएको हो । हिमपातका कारण मंगलबार  सिमकोट आसपासमा झण्डै एक फिट बाक्लो हिउँ जमेको छ । हिउँ पर्नेक्रम जारी छ । हिउँ पर्न नरोकिएका कारण अझै बढी हिमपात हुने सम्भावना छ ।

माघ चौथो साता भएको हिमपातले हुन नसकेका हवाइ उडान सुचारु हुन अझै केहि समय लाग्ने हवाइ प्राधिकरणको सिमकोट स्थित कार्यालय प्रमुख हिराजन काफ्लेले बताए ।  हिमपातले जिल्लाका झन्डै एक दर्जन भन्दा बढी गाउँ प्रभावित बनेका  छन् ।   हिमपातले स्नातक पहिलो वर्षको परिक्षा समेत प्रभावित हुने भएको छ ।

डिटिएचबाट सन्चालित टेलिभिजन समेत बन्द भएका छन् । हवाइ उडान हुन नसकेका कारण  जिल्ला छोडेको सरकारी कर्मचारी कार्यालय फर्कन सकेका छैनन् । सदरमुकामको तापक्रम माइनस छ ।