काँग्रेस संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई किशुनजीको स्थिति चिन्ताजनक, राष्ट्रपति यादवद्वारा पुनः स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार  अनुसार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थिति चिन्तामुक्त नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

 

‘बुधबारको दाँजोमा अलि सुधार छ, तैपनि खतरामुक्त भन्न सकिँदैन,’ उपचारमा संलग्न डा. भरत रावतले भने, ‘स्थिति चिन्ताजनक छ ।’ ८७ वषर्ीय भट्टराईलाई श्वासप्रश्वास र शरीर सुन्निने समस्या देखिएपछि ६ दिनअघि नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको थियो । बुधबार स्थिति गम्भीर देखिएपछि सामान्य कक्षबाट आईसीयूमा सारिएको थियो ।

 

भट्टराईको रगतमा हेमोग्लोबिन कम भएकाले बिहीबार रगतसमेत दिइएको उपचारमा संलग्न डा. श्यामबहादुर पाण्डेले बताए । उनको स्वास्थ्य स्थितिलाई चिकित्सक टोलीले नजिकबाट निगरानी गरिरहेको जानकारी पाण्डेले दिए । ‘भट्टराईको श्वासप्रश्वास सामान्य छैन,’ डा. रावतले भने, ‘अझै आईसीयूमा अक्सिजन दिएरै राखेका छौं । उहाँ होसमा आए पनि बीचबीचमा निदाउनु हुन्छ, बढी बोल्न सक्नु हुन्न ।’

 

 

राष्ट्रपति रामवरण यादवले पुनः स्वास्थ्य अवस्थाबारे जानकारी

प्राप्त समाचार  अनुसार राष्ट्रपति रामवरण यादवले पुनः पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भटटराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सक समेत रहेका राष्ट्रपति यादवले भट्टराईको स्वास्थ्य अवस्थाबारे बुझ्न शुक्रबार बिहान थापाथली स्थित नर्भिक अस्पताल पुगेका थिए । उनले अस्ती बुधबार पनि सन्त नेता भट्टराईको स्वस्थ्य स्थितिबारे बुझेका थिए ।

६ दिन देखि उपचार गरिरहेका भट्टराईको अवस्थामा केही सुधार आएपनि खतरामुक्त भइनसकेको उपचारमा  संलग्न चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय श्वास प्रश्वासमा समस्या आएपछि भट्टराईको सीसीयुमा राखेर उपचार भइरहेको छ ।