गृह मन्त्रालय आफ्नो पार्टीले नपाए माओवादी सरकारमा सहभागी नहुने
फाल्गुन ७ गते, २०६७ मा प्रकाशित
काठमाडौं – माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारमा सहभागी नहुने बताएका छन्। पूर्व मन्त्री तथा एमाले नेता शङ्कर पोखरेलले भने माओवादी लडाकुको समायोजन नभई गृह माओवादीलाई दिँदै नदिने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले सात बुँदे सहमतिभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति भएकाले गृह मन्त्रालय नदिए सहमतिको कार्यान्वयन नभएको ठहरिने दाबी गरे। उनले भने- सात बुँदेभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति छ।
गृह माओवादीलाई दिन्न भन्नु सहमति कार्यान्वयन गर्दिन भन्नु हो। यस्तो अवस्थामा माओवादी सरकारमा सहभागी हुने कुरै आउँदैन। उपाध्यक्ष श्रेष्ठले भने- सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिन्न हुन्न भन्ने तर्क कुर्तक हो। आफूहरुलाई त्यस्तो तर्क कुनै पनि हालतमा मान्य हुन नसक्ने पनि उनले स्पष्ट पारे।
उनले एमालेको संस्थापन पक्षले सहमति कार्यान्वयनमा प्रयास गरिरहेकाले सहमतिका लागि समय दिन बाहिरै रहेर समर्थन गर्ने निर्णय माओवादीले गरेको भन्दै एमालेले जे गरे पनि माओवादीले समर्थन गरिरहन्छ भन्ने मान्यता ठीक नभएको बताए। त्यस्तो बेलामा आफूहरुले अर्कै निर्णय गर्ने पनि उनले बताए। सरकारको आयु कति हुने र कसरी चल्ने भन्ने कुरा एमालेकै हातमा रहेको भनाइ पनि उनको थियो।
साक्षात्कारमा नेकपा एमालेका सचिव एवम् पूर्व सूचना तथा सन्चार मन्त्री शङ्कर पोख्रेलले भने माओवादी सेनाको समयोजन नभएसम्म गृह मन्त्रालयसहितका सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिनै नसक्ने बताए। अहिलेको अवस्थामा एमालेले सिफारिस गरेका विष्णु पौडेल नै गृह मन्त्री हुने ठोकुवा पनि उनले गरे। पार्टीको स्थायी कमिटीले पौडेललाई गृह मन्त्रालयको जिम्मा दिने निर्णय गरेको थियो।। त्यसमा अहिले फेरबदल भएको छैन र हुँदैन पनि- उनले थपे।