चैतको पहिलो साताभित्र सबै जिल्लामा राष्ट्रिय जनगणना कार्यालय विस्तार गरिने

ललितपुर  – काठमाडौंबाट प्राप्त समाचार  अनुसार  चैतको पहिलो साताभित्र सबै जिल्लामा राष्ट्रिय जनगणना कार्यालय विस्तार गरिने भएको छ । त्यसका निम्ति केन्द्रीय तथ्याङ्क विभागले ‘जिल्ला जनगणना अधिकृत तथा सुपरिवेक्षक तालिम’ को आयोजना गरेको छ । देशभरिमा ८० वटा जनगणना कार्यालय रहनेछन् ।

योजना आयोगका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले बिहीबार तालिमको उद्घाटन गर्दै जनगणनाको सय वर्ष र ११ औं राष्ट्रिय जनगणनामा बढी वैज्ञानिक र तथ्यपरक बनाउनुपर्ने बताए । दुई साताव्यापी तालिममा दुई सय अधिकृत र सुपरिवेक्षक सहभागी छन् । ‘कोही नछुटौं, कोही नदोहोरिऔं, अक्सर बसोबास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं’ भन्ने मूल नारालाई सबै पक्षले सहयोग गर्न केन्द्रले आग्रहसमेत गरेको छ ।

जिल्ला जनगणना कार्यालय स्थापनालगत्तै देशभरिमा ८ हजार सुपरिवेक्षक र ३४ हजार गणक खटाइने छन् । तीमध्ये ४० प्रतिशत महिला रहनेछन् । जेठ महिनामा घरपरिवार सूचीकरण लगत लिइने र असार ३ देखि १३ गतेसम्म अन्तिम चरणको जनगणना लिइने विभागले जनाएको छ ।

‘एकैपटक सञ्चालन गरी निश्चित समयभित्र सम्पन्न गरिने राष्ट्रिय कार्यक्रम हो’, जनगणनालाई प्रभावकारी बनाउन जनशक्तिलाई तालिमको आयोजना गरिएको उल्लेख गर्दै विभागका उपमहानिर्देशक विकास विष्टले भने, ‘लगत १ र २ मा घरपरिवारका सुविधाहरू सम्बन्धी प्रश्नहरू सोधिनेछन् जुन गरिबीको सूचकको रूपमासमेत प्रयोग गर्न सकिनेछन् ।’

व्यक्तिगत विवरण खण्डअन्तर्गत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल, पहाड तथा तराइ -मधेसका हरेक गाउँ, बस्ती, टोल तथा सहरमा अक्सर बसोबास गरिरहेका प्रत्येक व्यक्तिको नाम, थर, उमेर, लिङ्ग, जातजाति, भाषा, धर्म, शिक्षा, वैवाहिक स्थिति जस्ता जनसांख्यिक तथा सामाजिक विवरण जनगणनामा संकलन गरिने विभागले जनाएको छ ।

त्यसैगरी लगत २ मा व्यक्तिको वैवाहिक स्थिति, जन्मस्थान, बसाइँसराइ, प्रजनन र आर्थिक सक्रियतासम्बन्धी विवरण र १६ वर्षभन्दामुनिका बालबालिकाहरू परिवारमा कोसँग बस्छन् भन्ने विवरणसमेत खुलाइने छ । छानिएका घरपरिवारको काम गर्ने उमेर समूहका हरेक व्यक्तिकोे आर्थिक क्रियाकलापसम्बन्धी विवरणलाई गोप्य राखिनेछ ।