काठमाडौ । राजधानी काठमाडौंबाट प्रसारण हुने नेपाली टिभीहरुले समाचारमा जनाए अनुसार संविधान निर्माणका विषयमा संविधानसभाको संवैधानिक समितिले तीनदलका नेताहरुसँग छलफल गरेको छ ।
समितिका सभापति निलाम्बर आचार्यले आज तीनदलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाए पनि शीर्ष नेताहरु उपत्यकाबाहिर रहेकाले प्रमुख सचेतकहरुसँग छलफल गर्नु भएको हो ।
छलफलमा विवादित विषय किनारा लगाउन उपसमिति गठन गर्न वा मत विभाजन मार्फत् टुंगो लगाउने भन्नेबारे छलफल भएको कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । मुख्य दलको संसदीय दलका नेतासँग फेरी छलफल गरी निष्कर्षमा पुगिने घिमिरेले बताउनुभयो ।
संविधानसभाबाट एकीकृत मस्यौदा निर्माणको जिम्मेवारी सहित विषयगत समितिका प्रतिवेदन पठाइए पनि मुख्य विषयमा दलहरुबीच विवाद कायमै रहेकाले मस्यौदाले गति लिन सकेको छैन । समितिले भोलिबाट मस्यौदा लेखनको काम सुरु गर्ने तयारी गरेको छ ।
राज्य पुनर्संरचना, शासकीय स्वरुप जस्ता विवादका विषयलाई थाति राखेर लेखनको काम समितिले अघि बढाउने छ ।