चितवन – नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले माओवादी लडाकूहरु विषेष समिति मातहतमा नआएको बताएका छन्। सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका महतले नारायणगढमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।
उनले औपचारिकरुपमा कार्यक्रम गरेर माओवादी लडाकूहरु विशेष समिति मातहतमा आएको भनिए पनि उनीहरु अझै माओवादीकै कमान्डमा रहेको बताए।
नेता महतले कार्यगतरुपमा माओवादी लडाकूलाई नियन्त्रण गर्न विभिन्न २८ शिविरमा तीन सय कर्मचारी खटाइए पनि माओवादीले बिरोध गरेका कारण लडाकूलाई समिति मातहतमा ल्याउन माओवादीले नै नचाहेको स्पष्ट भएको छ भने।
माओवादी लडाकूहरु व्यवहारतः समितिको मातहतमा आएका छैनन्, नेता डा महतले भने – माओवादी नेताहरुसमेत चेन अफ कमान्ड हाम्रै छ भनिरहेकाले उनीहरुलाई समिति मातहत ल्याउन सम्भव नभएको हो भने।
नेता डा महतले माओवादी लडाकूहरुको समायोजन र पुनर्स्थापना नभएसम्म देशमा जारी शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताउनुभयो। लडाकूहरु शिविरमा रहेसम्म संविधान पनि बन्दैन- महतले भने।
एक अर्को प्रसङ्गमा उनले माओवादी र एमालेबीच भएको सातबुँदे सहमति शान्ति सम्झौता विपरित भएको दाबीसमेत गरे। सातबुँदे सहमति लोकतन्त्र र शान्तिको पक्षमा छैन, उनले भने। -रासस



