काठमाडौं – राजधानी काठमाडौंबाट प्रसारण हुने नेपाली टिभीहरुले समाचारमा जनाए अनुसार माओवादीले सात बुँदे सहमतिको मूल मर्ममा परिमार्जन हुन नसक्ने अडान कायम राख्दै त्यसको भाषा मिलाउन सकिने बताएको छ । एमालेसँग मंगलबार भएको छलफलमा सहमतिको आधारमा सरकार बनेको उल्लेख गर्दै त्यसको मूल मर्म र भावना परिमार्जन गर्न नसकिने बताएको हो ।
उसले अझै पनि उक्त सहमतिका बिषयमा शंका भए त्यसलाई स्पष्ट गर्न तयार भएको जनाएको हो । एमाले वरिष्ठ नेता माधबकुमार नेपाल र ओलीले भनेजस्तो सहमतिलाई परिमार्जन गर्न नसकिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफलमा बताएका थिए ।
‘सात बुँदे सहमतिमा कुनै शंका भए भाषा परिमार्जन गर्न सकिन्छ भन्ने कुरा भयो’ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘तर सहमतिको मूल मर्म र भावना परिमार्जन स्वीकार हुन सक्दैन ।’
प्रधानमन्त्री एबं एमाले अध्यक्ष झलनाथ खनाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिको सहमतिबारे छलफल गर्न सकिने जनँउँदै त्यसलाई खारेज वा परिमार्जन हुन नसक्ने बताएका थिए । एमाले पोलिटव्युरो बैठक बस्नु अघि मंगलबार बिहान बसेको छलफलमा सहभागी एमाले नेता केपी शर्माले ओलीले ‘सात बुँदेलाई सच्याउने कुरामा दुबै दलको सहमति भएको’ बताएका थिए । सहमतिमा लडाकुको छुट्टै फोर्स बनाउने र गृह र रक्षा मन्त्रालय बाँडफाँट सम्मानजनक रुपमा हुने उल्लेख छ ।
छलफलमा दुबै दलले आ-आफ्नो अडान कायम राखेका थिए । एमाले नेताहरुले लचिलो भएर मन्त्रिपरिष्द् विस्तार गर्न आग्रह गरे पनि माओवादीले सात बुँदेबारे पार्टीले स्पष्ट निर्णय गर्न बताएको थियो । एमालेले खनालको संयोजकत्वमा वार्ता टोली बनाएपछि माओवादीसंग पहिलोचोटि वार्ता भएको हो ।
माओवादी एमाले निर्णय पर्खंदै
मन्त्रिपरिष्द् विस्तार गर्ने सम्बन्धमा माओवादीले एमाले केन्द्रीय कमिटी बैठकको निर्णय पर्खेको छ । माओवादीलाई गृह मन्त्रालय दिने/नदिने एमाले निर्णयपछि मात्र उसले निश्कर्ष निकाल्ने जनाएको छ । ‘माओवादीले एमालेले कस्तो निर्णय गर्छ’ सचिब सीपी गजुरेलले भने, ‘त्यसपछि हामी निर्णय गर्छौ ।’
यसअघि माओवादीले एमालेले सात बुँदे सहमति कार्यान्वयन नगर्दासम्म सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । माओवादी गृह मन्त्रालय नपाए सरकारमा जान नसक्ने बताइसकेको छ । सहमतिबारे निर्णय गर्न एमालेको बैठक जारी रहेको माओवादी वरिष्ठ नेताहरु आन्तरिक प्रशिक्षणमा लागेका छन् ।



