नेपालमा कम्युनिष्ट शासन सत्ता स्थापना गर्न कसैले सोंचे उनीहरु राणा तथा पंचायत जस्तै ढल्ने कांग्रेस सुशील कोइरालाको भनाई

कपिलवस्तु  – समाचारमा जनाए अनुसार कांग्रेस सभापति सुशील कोइरालाले नेपालमा कम्युनिष्ट शासन सत्ता स्थापना गर्न कसैले सोंचे उनीहरु राणा तथा पंचायत जस्तै ढल्ने बताएका छन् ।

एमाले र माओबादी प्रति इंगित गर्दै उनले जसरी एक पछि अर्को गरी अरब मुलुकका तानाशाहाहरु ढल्दै छन्, त्यस्तै हबिगत यहाँ पनि हुने उनले बताए । सबै कुरा पारदर्शी हुने जमानामा अँध्यारो कोठामा गरिएको सम्झौता आफूहरुलाई मान्य नभएको र त्यो तत्काल खारेज हुनु पर्ने उनले बताए ।

कांग्रेस कपिलवस्तुद्वारा तौलिहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दे उनले अपवित्र गठबन्धनकै कारण दुई बामबीच किचलो बढेको र हाल सम्म सरकारले पूर्णता पाउन नसकेको बताए । कांग्रेस शान्ति प्रक्रिया र समय मै संविधानका लागि सहमति र सहकार्य गर्न तयार छ तर त्यसका लागि माओबादी र एमाले बाधक बनिरहेको उनले बताए ।

कांग्रेसले नै माओवादीलाई जंगल देखि सरकार सम्म पुर्‍याएको भन्दै सरकार चलाउन नसकेर आफै राजीनामा दिएर बाहिरिएका ‘प्रचण्ड’ले मेरै गोरुको बाहृै टक्का भनिरहेका कारण मुलुलले निकास पाउन नसकेको बताए ।

सभामा केन्द्रीय सदस्यहरु दिपकुमार उपाध्याय, कृष्णचन्द्र नेपाली, बद्री पाण्डे र नेपाल बिद्यार्थी संघका अध्यक्ष प्रदिप पौडेल लगायतका बक्ताहरुले पनि बोलेका थिए ।