मुख्य तीन दल नयाँ संविधान निर्माणमा देखिएको विवादमा उपसमिति मार्फत सहमति खोज्न सहमत

काठमाडौ – काठमाडौबाट प्राप्त समाचार  अनुसार  मुख्य तीन दल नयाँ संविधान निर्माणमा देखिएको विवादमा उपसमिति मार्फत सहमति खोज्न सहमत भएका छन् । मत विभाजनका आधारमा संविधानसभा मार्फत विवादको समाधान गर्दा दलहरुबीचको दुरी झन बढ्ने भन्दै उपसमितिमा छलफल गरेर सहमति खोज्न माओवादी,कांग्रेस र एमाले राजी भएका हुन् । बैठकमा तीन दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

 

संवैधानिक समितिले बुधबार बिहान सिंहदरवारमा गरेको छलफलमा दृढता पूर्वक लागे बाँकी समयमा संविधान निर्माण गर्न सकिनेमा दलहरु विश्वस्त देखिएका छन् । मधेशवादी दललाई समेत सहभागी गराई उपसमिति गठन गरिनुपर्ने दलहरुको सुझाव छ ।

 

यस सम्बन्धमा भोलि बस्ने बैठकमा सभामुख सुवास नेम्वाङसंग पनि छलफल गर्ने भएको छ । प्रस्तावित विभिन्न ८३ वटा विवादित विषयमा समितिले पटक-पटक छलफल गर्दापनि सहमति जुट्न सकेको छैन । विवादित १ सय २७ वटा बुँदामा उच्च स्तरीय कार्यदल र २८ दलको बैठकबाट सहमति जुटेको थियो । विवादित विषयको टुङ्गो लगाउने जिम्मा संवैधानिक समितिलाई दिइएको छ ।