सत्तासाझेदारी र शान्तिप्रक्रिया टुंगो लगाउने विषयमा छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं – प्राप्त समाचार  अनुसार  सत्तासाझेदारी र शान्तिप्रक्रिया टुंगो लगाउने विषयमा छलफल गर्न आज बिहीबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक हुने भएको छ ।

सिंहदरबारस्थित शान्ति मन्त्रालयमा अपराह्न तीन बजे हुने बैठकमा माओवादी र कांग्रेस समेतलाई सरकारमा सामेल गराउनेबारे छलफल हुनेछ । ‘सरकार विस्तार र शान्ति प्रक्रियाबारे छलफल गर्न बैठक बोलाइएको हो,’ प्रधानमन्त्रीका राजनीतिक सहयोगी पुरुषोत्तम पौडेलले भने ।

एमालेको केन्द्रीय समिति बैठकले सरकारमा कांग्रेस लगायत दलहरूलाई पनि सामेल गराउने प्रयत्न गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले पनि त्यसको पहल थाल्न लागेका हुन् । एमालेले शान्ति र संविधानलाई पूर्णता दिन प्रमुख तीन दलबीचको सहकार्यमा यसअघि देखि नै जोड दिएको छ । शान्ति र संविधानलाई पूर्णता दिनका लागि यही सरकारमा सामेल भएर राष्ट्रिय सहमतिको स्वरूप दिनका लागि एमालेले कांग्रेसलाई आग्रह गर्दै आएको छ । बैठकमा लडाकु समायोजन पुनःस्थापना लगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।