नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा लेखनमा विवादित विषयमा सहमति जुटाउन उपसमिति गठन

काठमाडौ  – प्राप्त समाचार  अनुसार नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा लेखनको वातावरण निर्माणमा जुटेको संवैधानिक समितिले बिहीबार विवादित विषयमा सहमति जुटाउन उपसमिति गठन गर्दैछ । संविधानको प्रस्तावित ६ दर्जन बढी विषयमा देखिएको विवाद अन्त्यका लागि उपसमिति बनाएर अगाडि बढन मुख्य तीनदलका नेता सहमत भएपछि समितिले आज उपसमिति गठन गर्न लागेको हो ।

संविधान सभाध्यक्ष सुवास नेम्बाङसमेत उपस्थित बैठकले दलका शीर्ष नेताहरु सम्मिलित उपसमिति गठन गर्नेछ । यसैबीच बुधबार बसेको सहमतिलाई  लिएर सदस्हरुबीच विवाद भएको छ । राज्य पुनसंरचना आयोग गठन सम्बन्धमा गरिएको सहमति प्रति माओवादीका तर्फकाट समिति सदस्य देव गुरुङले गलत टिप्पणी गरेको भन्दै कांग्रेस सदस्यहरुले आवाज उठाएपछि विवाद भएको हो ।

करिब दुईघण्टायता जारी बैठकले विवादका कारण उपसमिति गठन गर्न सकेको छैन । राज्य पुनसंरचना गठन गर्ने सम्बन्धमा मुख्य तीन दलबीच भएको सहमति विपरित नेता गुरुङले आयोग गठन गर्दा संविधान नबन्ने भन्दै सविधान संशोधन गर्नुपर्ने धारणा अघि सारेका थिए ।