काठमाडौ – राष्ट्रपति डा. रामवरण यादव कुवेतको स्वतन्त्रता दिवसको अवसरमा भाग लिन शुक्रबार त्यसतर्फजाँदै छन् । बिहान छ बजे कुवेतले पठाएको विशेष विमानबाट राष्ट्रपति जान लागेका हुन् । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
कुवेत जानुअघि बिहीबार राष्ट्रपति र प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपतिले कुवेत भ्रमणबारे प्रधानमन्त्रीलाई जानका गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । यसैबीच राष्ट्रपतिसँग दक्षिण कोरियाका उपमन्त्री तथा त्यहाँ राष्ट्रपतिका विशेष दूत पार्क योङ जुनले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा कोरिया र नेपालबीच वातावरण, सूचना प्रविधि, जलस्रोत पर्यटनका भावी सहयोगको सम्भावनाबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कम्बोडिया नजाने
मुलुकको राजनीतिक पस्थितिको कारण जनाउँदै प्रधानमन्त्री झलनाथ खनालले कम्बोडियामा हुने नेपालको शान्ति प्रक्रियासम्बन्धी सम्मेलनमा सहभागी हुने कार्यक्रम रद्द गरेका छन् । एसियाली राजनीतिक दलहरूको संगठन (आइक्याप) ले बुधबारदेखि नेपालको शान्ति प्रक्रियासम्बन्धी सम्मेलन गर्दैछ । नेपालका प्रमुख दलहरूसहित प्रधानमन्त्री खनाललाई बोलाइएको थियो ।
‘सरकार विस्तारलगायत काम भइरहेका छन्,’ प्रधानमन्त्रीका विदेश मामिला सहयोगी मिलन तुलाधरले ईकान्तिपुरसँग भने, ‘राजनीतिक पस्थितिका कारण नजाने हुनुभएको हो ।’ सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधव नेपाल, कांग्रेस सभापति सुशील कोइराला लगायतलाई निम्तो छ ।



