आज राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुने

– दिनेशजंग शाह

 

न्युयोर्क – राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्षबाट मंगलबार बिहानसम्म एक-अर्काको उम्मेदवारी फिर्ता गराउने प्रयास भएको थियो ।

दुवै पक्ष आ-आफ्नै अडानमा अडिग रहेपछि शुक्रबार निर्वाचनबाट अध्यक्ष चयन गरिने भएको छ । ‘चुनावबाट छिनोफानो हुने तय भएको छ,’ नेपालको तर्फबाट अध्यक्ष पदका प्रत्यासी कुलचन्द्र गौतमले भने, ‘कतारको उम्मेदवारी फिर्ता गराउने हाम्रो प्रयास सफल नभएपछि हामीले चुनाव फेस गर्ने भएका छौं ।’ गौतमले नेपालको सम्भावना बलियो रहेको बताए ।

यसपटक महासभा अध्यक्ष पद एसियाबाट चयन गर्ने पालो भएकाले शुक्रबार राष्ट्रसंघ महासभा हलमा एसियाका ५३ राष्ट्रले गोप्य मतदान गर्नेछन् । एसियाली सदस्य राष्ट्रहरूको चयनपछि राष्ट्रसंघका बाँकी सदस्य राष्ट्रहरूले अध्यक्षको अनुमोदन गर्ने चलन छ ।

कतारको तर्फबाट राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिसमेत रहेका नासिर अब्दुल्लाजिज उम्मेदवार बनेका

छन् । उनी सन् १९९८ देखि न्युयोर्कमा कार्यरत छन् । दुवै उम्मेदवारले मंगलबार ५३ एसियाली राष्ट्रका प्रतिनिधि उपस्थित महासभा कक्षमा उम्मेदवारीको औचित्य र एजेन्डाबारे आ-आफनो मन्तव्य राखेका थिए ।

राष्ट्रसंघका पूर्वउपमहासचिव गौतमले राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको अतुलनीय भूमिकाको सन्दर्भ उल्लेख गर्दै समर्थनका लागि सबै पक्षसँग अनुरोध गरे । अध्यक्ष पदका लागि आफ्ना चार प्रमुख एजेन्डा प्रस्तुत गर्दै उनले  महासभाका बाँकी महत्त्वपूर्ण कामलाई पूर्णता दिने, राष्ट्रसंघको बोर्ड पुनःसंरचना,  संयुक्त विकास तथा वातारण एजेन्डा एवं शान्ति र सुरक्षा एजेन्डा प्रस्तुत गरेका थिए ।

सन् १९८६ मा बंगलादेशको अध्यक्षतापछि महासभाको नेतृत्वमा कुनै दक्षिण एसियाली राष्ट्रले अवसर पाएका छैनन् । उता, सन् २००६ मा मात्र मध्यपूर्वबाट बहराइन महासभाको अध्यक्ष् भएको थियो । ‘शताब्दीमा पनि एक पटक मुस्किलले प्राप्त हुने महासभा अध्यक्ष्ाका लागि सीमित आर्थिक स्रोत र साधनका बाबजुद हामीले कुनै कसर छोडेका छैनौं,’ राष्ट्रसंघका लागि नेपाली स्थायी उप-प्रतिनिधि शंकर वैरागीले भने ।

सन् २०११-२०१२ महासभा अध्यक्षका लागि सन् २००१ मा आफ्नो उम्मेदवारी घोषणा गरेको नेपालले नौं महिनाअघि गौतमको नाम तय गरेको थियो । सन् १९७१ मा राष्ट्रसंघ सदस्य भएको कतारले सन् २००२ मा उम्मेदवारी घोषणा गरेको थियो ।