काठमाडौं – प्राप्त समाचार अनुसार नयाँ संविधानका विषयवस्तुमा रहेका विवाद समाधान गर्न संवैधानिक समितिले बनाएको शीर्ष नेताहरू सम्मिलित उपसमितिको बैठकसमेत बस्न सकेन । समितिका सदस्य कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको अनुपस्थितिका कारण उसको पहिलो गाँसमै ढुंगा लागेको हो । अन्य नेताहरू सिंहदरबारमा जम्मा भए पनि पौडेल अनुपस्थित भएपछि सोमबारसम्म बैठक स्थगित गरिएको छ ।
मधेसी दलहरूका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण उपसमितिको सदस्य चयन भएका छन् । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस नेता पौडेल र साना दलतर्फबाट नेकपा संयुक्तकी कल्पना राणा सदस्य तोकिएका थिए ।
संविधानसभाका विभिन्न विषयगत समितिका प्रतिवेदनमा रहेका विवाद समाधानका लागि संवैधानिक समितिले शुक्रबार उपसमिति गठन गरेको थियो । नयाँ संविधानमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय इकाईलगायत विषयमा दलहरूबीच विवाद छ ।
संविधानको पहिलो एकीकृत मस्यौदा तयारीको क्षेत्राधिकार रहेको संवैधानिक समितिले ती विवादका कारण आफ्नो मुख्य काम सुरु गर्न सकेको छैन । यसअघि विवादित ८३ प्रश्नमा उसले एकसरो छलफल गरे पनि उसले कुनै सहमति जुटाउन सकेन । २७ दलको संयन्त्रले माओवादी अध्यक्ष दाहालको संयोजकत्वमा बनाएको उच्चस्तरीय संयन्त्रले १ सय २७ विवादित प्रश्नमा सहमति जुटाएको थियो ।
संयन्त्रको कामप्रति संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले जनाएको असन्तुष्टि र कार्यदलको म्याद थप गर्न नचाहेको माओवादी कट्टरपन्थी समूहको दबाबका कारण २७ दलको संयन्त्र निष्क्रिय भएको थियो ।
संविधानसभाको थप गरिएको कार्यकाल सकिन तीन महिना मात्र बाँकी रहँदा पनि संविधानका मुद्दामा केन्द्रित रहेर दलहरू छलफलमा जुटेका छैनन् ।