माओवादी मोहन बैद्यद्वारा सातबुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्रीको दलले अझैपनि अलमलकै स्थिति कायम राख्‍ने हो भने सरकारलाई दिइएको समर्थनमा हेरफेर हुनसक्ने चेतावनी

काठमाडौँ – एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन बैद्यले सातबुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्रीको दलले अझैपनि अलमलकै स्थिति कायम राख्‍ने हो भने सरकारलाई दिइएको समर्थनमा हेरफेर हुनसक्ने चेतावनी दिएका छन्।

 

जनसञ्चार अभियानद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले एनेकपा माओवादीको समर्थनमा वर्तमान सरकार निर्माण भएतापनि प्रधानमन्त्री झलनाथ खनालकै पार्टी एमालेभित्रको चलखेल र अस्पष्टताका कारण सरकारले पूर्णता पाउन नसकेको ठोकुवा गरे।

 उनले सरकार गठनका लागि जारी गतिरोध अन्त्यका लागि एमालेबाट नै आवश्यक पहल हुनुपर्नेमा जोड दिए।


प्रधानमन्त्री निर्वाचित भएको झण्डै एक महिनासम्म पनि प्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीबाट मन्त्रिपरिषद् विस्तार कार्यमा अवरोध तेर्स्याइएको छ भन्दै चाँडै सो अवरोधलाई हटाउन पहल हुन जरुरी रहेको बताए।


 सरकारमा जाने वा नजाने विषयमा माओवादीले पटकपटक पार्टीगत निर्णय गर्दै आएको छ भने एमालेले गृह मन्त्रालय कुनैपनि हालतमा एनेकपा माओवादीलाई नदिएर प्रधानमन्त्रीले नै राख्नुपर्ने अडानमा रहेकोले मन्त्रिपरिषद् विस्तार कार्यले पूर्णता पाउन सकिरहेको छैन। -रासस