प्रधानमन्त्री झलनाथ खनालद्वारा परराष्ट्र मामिला सल्लाहकार र प्रेस सल्लाहकार नियुक्त

काठमाडौ –  प्राप्त समाचार  अनुसार  प्रधानमन्त्री झलनाथ खनालको परराष्ट्र मामिला सल्लाहकारमा मिलन तुलाधर र प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् । एमाले राज्य व्यवस्था समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले उनीहरू दुवै जनालाई सहायक मन्त्रिस्तरको तलब सुविधा पाउने गरी नियुक्त गरेको हो ।

५९ वर्षिय तुलाधर एमाले विदेश विभाग सदस्य हुन् । उनले २७ वर्ष इसिमोडमा काम गरी डाइरेक्टर पदबाट एक वर्षअघि अवकाश लिएका थिए । २०३२ देखि पार्टीमा संलग्न तुलाधर पार्टीको वैदेशिक मामिलासम्बम्धी काममा संलग्न रहँदै आएका थिए ।

प्रेस सल्लाहकार थापा एमाले प्रचार विभागका सचिव तथा पार्टी केन्द्रीय कमिटीको राजनीतिक पत्रिका नवयुग मासिकका सम्पादक हुन् । उनी ६ वर्षसम्म पार्टीको मुखपत्र बुधबार साप्ताहिकको सम्पादक थिए ।

प्रधानमन्त्री खनालले प्रमुख स्वकीय सचिवमा दीपक अमात्य र स्वकीय सचिवमा रामबाबु अधिकारीलाई नियुक्त गरेका छन् । अमात्य यसअघि खनाल मन्त्री हुँदासमेत स्वकीय सचिव थिए । उनले खनाल प्रधानमन्त्री हुनुअघिदेखि नै स्वकीय सचिवको काम गर्दै आएका थिए ।