काठमाडौं – संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार एक महिनादेखि गृह मन्त्रालयको अडानमा सरकार बाहिर रहेको माओवादी अन्ततः सरकारमा जाने भएको छ । उसले विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।
प्रधानमन्त्री झलनाथ खनालको दल एमालेले गृह मन्त्रालय नदिने अडान यथावत् राखेपछि माओवादीले दुई पटक सरकारमा नजाने निर्णय गरेको थियो । पछि माओवादीलाई गृह मन्त्रालय दिने प्रधानमन्त्री झलनाथ खनालको प्रतिबद्धतापछि माओवादी सरकारमा जाने निर्णयमा पुगेको हो ।
बुधबार साँझ बसेको स्थायी समिति बैठकले महराको नेतृत्वमा ११ जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । ‘अहिलेसम्म हामी सरकार बाहिर बस्ने निर्णयमा थियौं,’ बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, ‘आज भने हामीले सरकारमा सामेल हुने निर्णय गर्यौं ।’
माओवादीले महरासहित वर्षमान पुन, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङलगायतलाई सरकारमा पठाउँदैछ । तर यसबारे औपचारिक जानकारी दिइएको छैन ।
बिहीबार बिहान प्रधानमन्त्री झलनाथ खनालसँग छलफल गरेर माओवादीले मन्त्रालयबारे टुंगो लगाउने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । ‘मन्त्रालयका विषयमा भोलि बिहान प्रधानमन्त्रीसँग बसेर टुंगो लगाउँछौं,’ शर्माले भने, ‘त्यसपछि हामी पनि बसेर बाँकी कुराहरु (कसलाई कुन मन्त्रालय दिने)बारे छलफल गर्छौं ।’



