चितवन – संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार गत मंसिरमा निकुन्ज भित्रको टाइगरटप्स होटलमा गोली पड्काएको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनको धरौटीमा रिहा भएका पुर्व युवराज पारस शाह फेरी तारेख लिन बिहीबार चितवन आएका छन् ।
पारस शाहबिरुद्ध गत मंसिरमा टाईगर टप्स होटलका पाहुना बंगलादेशी नागरिक रुबेल चौधरी -सुजाता कोइरालाका छोरी ज्वाई) माथि ज्यानमार्ने उद्योग गरेको आरोपमा जिल्ला प्रहरीले पक्राउ गरेको मुद्धामा प्रशासनले १० हजार धरौटी लिएर तारेखमा रिहा गरेको थियो ।
पारस बिरुद्ध सरकारवादी फौजदारी मुद्धा दर्ता भएकाले वारेश वा वकिलहरुलाई पठाउन नपाइने कानूनि ब्यबस्था रहेकाले पारस आफै आएका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले बिहिवार पारसलाई तारेख दिएर उनका साक्षि र सरकारी साक्षीहरु भिकाउन आदेश दिन सक्ने वरिष्ठ अधिबक्ता कृष्णभक्त पोखरेलले जानकारी दिए । ‘त्यसै दिन पनि फैसला त हुन सक्छ तर त्यो प्रकृया केहि लामो हुने भएकाले फेरी अर्कोदिनको तारेख दिने सम्भावना पनि त्यतिकै छ,’ उनले भने ।
चितवनमा उनका सहयोगी फणिन्द्र भण्डारीले दिएको जानकारी अनुसार पारस आज बिहान दश बजे चितवन आइपुग्ने र आफ्ना सर्मथकहरु सहित जिल्ला प्रशासनमा तारेख लिन जाने कार्यक्रम निर्धारण भएको छ । त्यसका लागि उनका सर्मथकहरु हिजोदेखि नै चितवनका अधिकांस होटलमा आएर बसेका छन् । उनलाई अबिरजात्रा र बाजागाजासहित जिल्ला प्रशासनमा पुर्याउने योजनामा उनका सर्मथकहरु देखिएका छन् ।
जिल्ला प्रशासनवाट पारस बाहिरिएपछि उनका सर्मथकहरुले नजिकैको पारस बसपार्कमा एक सार्वजनिक कार्यक्रम आयोजना गरेर पारसलाई सम्बोधन गर्न लगाउने तैयारीमा जुटेका छन् । यद्यपी यसवारे पारसको निजि भनाई सार्बजनिक भएको छैन् । त्यसपछि आफ्ना सुभेच्छुकहरु भेटन आज साँझ नै पारस हेटौंडा पुग्ने भएका छन् ।
हेटौडा र वीरगंजवाट चार हजार भन्दा बढि पारसका सर्मथकहरु हिजो साँझदेखि नै भरतपुर, नारायणगढ , सौराहा र नवलपरासीका रिसोर्ट र होटलहरुमा भरीभराउ भैसकेका छन् । पारस हेलिकप्टरवाट चितवन आउने तैयारीमा रहेपनि उनका सर्मथकहरुले गाडिमै आउन सल्लाह दिएका छन् ।
उनको स्वागतकालागि राजमार्गमा बिभिन्न स्थानमा तुल र ब्यानर टांग्ने तैयारी पुरा भएको छ । यसै बिच चितवनमा उनको सुरक्षाकालागि थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।



