काठमाडौँ । काठमाडौँबाट प्राप्त समाचार अनुसार क्यासिनो सञ्चालनमा रोक लगाउने गरी गरेको सरकारको निर्णयविरुद्ध काठमाडौँको होटल सोल्टी र पोखराको फुलबारी रिसोर्टका तर्फबाट आज सर्वोच्च अदालतमा रिट परेको छ ।
होटल सोल्टीका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्ट र फुलबारी रिसोर्टका कार्यकारी अध्यक्ष पियुषबहादुर अमात्यले छुट्टाछुट्टै रिट दायर गर्नुभएको हो ।
रिटमा क्यासिनो सञ्चालकले होटलसँग गरेको सम्झौताबमोजिम सरकारलाई विगतमा राजस्व बुझाउँदै आएको कुरा सरकारको अभिलेखमा नै देखिएको र व्यवस्थापिका-संसदको सार्वजनिक लेखा समितिले पनि क्यासिनो सञ्चालकबाटै बक्यौता अशुल गर्न निर्देशन दिँदादिँदै पनि सम्बन्धित मन्त्रालयले होटलको नाममा रहेको क्यासिनो किन बन्द नगर्ने भन्ने ब्यहोराको प्रेषित पत्रले आर्थिक ऐन, इजाजत पत्र, सम्झौता र होटलको साखमा समेत आँच आएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागसमेतलाई विपक्षी बनाइ ती रिट दायर गरिएका हुन् ।