काठमाडौं – काठमाडौँबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री झलनाथ खनालको मन्त्रीपरिषद्मा माओवादीका चार मन्त्री थपिएका छन् । माओवादीका चार मन्त्रीले राष्ट्रपति भवनमा शुक्रबार दिउँसो पद तथा गोपनियताको सपथ लिए पछि मन्त्री संख्या सात पुगेको छ ।
राष्ट्रपति डा. रामवरण यादवको उपस्थितमा प्रधानमन्त्री खनालले कृष्णबहादुर महरालाई बरिष्ठ उपप्रधानमन्त्रीसहित सूचना तथा सञ्चार, टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण, खड्गबहादुर विश्वकर्मा पर्यटन तथा वर्षमान पुनलाई शान्ति मन्त्रीमा सपथ गराएका हुन् ।
शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले पहिलो चरणमा चार जनालाई मात्र सरकारमा पठाउने निर्णय गरेको थियो ।
सत्तासाझेदारीमा ११ वटा मन्त्रालय पाएपनि मन्त्रीहरुको छनौटमा पार्टी भित्र आन्तरिक विवाद बढेपछि स्थायी समिति बैठकले चार जनाको नाम मात्र टुङ्गो लगाएको थियो ।
शुक्रबार बिहान बसेको बैठकले कृष्णबहादुर महरालाई बरिष्ठ उपप्रधानमन्त्रीसहित सूचना तथा सञ्चार, टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण, खड्गबहादुर विश्वकर्मा पर्यटन तथा वर्षमान पुनलाई शान्ति मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो ।



