चाहे पञ्चायतकालमा पुल्चोकको चिसो छिँडी होस् वा शक्तिशाली प्रधानमन्त्रीको वातानुकुलित कक्ष होस् वा केही महिनाअगाडि नर्भिक अस्पतालको आइसियु कक्ष होस् – किसुनजीले हमेसा एकनास स्नेहको वर्षा मात्र गर्नुभयो। मलाई यसो लेखिदे, लेखाइदे, देखाइदे भन्ने जस्ता शब्दको त कुरै छाडौं आसयमात्र पनि किसुनजीले कहिल्यै व्यक्त गर्नुभएन। मलाई मात्र किन, यसै पनि पत्रकारहरूलाई किसुनजीले खासै महत्त्व दिएको मलाई सम्झना छैन। आफ्नो विषयमा कसले के लेख्छ र कसले के सोच्छ? यी विषयमा रत्तिभर मतलब गर्नुहुन्न। किसुनजीलाई नेपाली प्रेसले के पो लेख्न बाँकी राख्यो र? किसुनजीले पनि प्रेसलाई के पो भन्न बाँकी राख्नुभयो? एकताका भन्नुहुन्थ्यो, ‘पत्रकारहरू चोर हुन्।’
एकप्रकारको अद्भुत आत्मविश्वास छ किसुनजीभित्र। को पत्रकारले मलाई के लेखेर के पो नाप्न सक्छ र भन्ने आत्मविश्वास। यो घमण्डझैं देखिने आत्मविश्वास उहाँभित्र त्यसै आएको होइन। किसुनजीको ६ दसक लामो राजनीतिक जीवनमा उहाँको भजन गर्नेहरू गाली गर्नेमा र गाली गर्नेहरू भजन गर्नेमा परिणत भएका छन्



