देखिने किसुनजी…नदेखिने किसुनजी — कृष्णप्रसाद भट्टराई (१९८१-२०६७)

विजय कुमार

 

-कृष्णप्रसाद भट्टराईका विषयमा लेख्न मलाई सजिलो छैन। किनभने म उहाँलाई मन पराउँछु। एउटा पत्रकार जब कुनै राजनीतिक नेताप्रति विशेष अनुराग राख्दछ तब उसको लेखनी वस्तुगत रहन सक्दैन। तर मेरा निम्ति कृष्णप्रसाद भट्टराई कुनै राजनीतिक नेता मात्र कहिल्यै रहनुभएन र सौभाग्यवश मलाई पनि किसुनजीले एक पत्रकारका रूपमा मात्र कहिल्यै लिनुभएन।

 

नेपालको सन्दर्भमा प्रायः देखिने, सुनिने वा बुझिने नेता-पत्रकार सम्बन्धका स्वचालित आधारहरूबाट हमेसा मुक्त रहे कृष्णप्रसाद भट्टराईसँग मेरा सम्बन्धहरू।

 चाहे पञ्चायतकालमा पुल्चोकको चिसो छिँडी होस् वा शक्तिशाली प्रधानमन्त्रीको वातानुकुलित कक्ष होस् वा केही महिनाअगाडि नर्भिक अस्पतालको आइसियु कक्ष होस् – किसुनजीले हमेसा एकनास स्नेहको वर्षा मात्र गर्नुभयो। मलाई यसो लेखिदे, लेखाइदे, देखाइदे भन्ने जस्ता शब्दको त कुरै छाडौं आसयमात्र पनि किसुनजीले कहिल्यै व्यक्त गर्नुभएन। मलाई मात्र किन, यसै पनि पत्रकारहरूलाई किसुनजीले खासै महत्त्व दिएको मलाई सम्झना छैन। आफ्नो विषयमा कसले के लेख्छ र कसले के सोच्छ? यी विषयमा रत्तिभर मतलब गर्नुहुन्न। किसुनजीलाई नेपाली प्रेसले के पो लेख्न बाँकी राख्यो र? किसुनजीले पनि प्रेसलाई के पो भन्न बाँकी राख्नुभयो? एकताका भन्नुहुन्थ्यो, ‘पत्रकारहरू चोर हुन्।’


 एकप्रकारको अद्भुत आत्मविश्वास छ किसुनजीभित्र। को पत्रकारले मलाई के लेखेर के पो नाप्न सक्छ र भन्ने आत्मविश्वास। यो घमण्डझैं देखिने आत्मविश्वास उहाँभित्र त्यसै आएको होइन। किसुनजीको ६ दसक लामो राजनीतिक जीवनमा उहाँको भजन गर्नेहरू गाली गर्नेमा र गाली गर्नेहरू भजन गर्नेमा परिणत भएका छन्