सन्त नेता कृष्णप्रसाद भट्टराईको पान, चिया र चुरोटको सोख थियो


 

– जितेन्द्र साह

 

काठमाडौ  – सन्त नेता कृष्णप्रसाद भट्टराईको पान, चिया र चुरोटको सोख प्रायः सबैलाई थाहा छ । मिठाई, नुनिलो र चटपटे भोजनप्रति भट्टराईको रुचि थियो । ‘बनारसी बाबु बडो चटकार थिए,’ छ दशक अघिदेखि किसुनजी निकट रहेका विश्वम्भरलाल (बीएल शर्मा) भन्छन्, ‘भनेको बेला गर्म जेरी, इडली र पानी पुरी त चाहिहाल्ने ।’ अघिल्लो दिन भट्टराईको उनको निधनपछि श्रद्धाञ्जलि दिन पानको माला र बिटा लगिएको छ । केही पान पसल शोक मनाउन बन्द गरिएका छन् ।

पानका लागि भट्टराई न्युरोड, नयाँ बानेश्वर र कमलपोखरीसम्म पुग्थे । नयाँ बानेश्वरको श्रीराम पान भण्डार शोकमा आइतबारसम्मका लागि बन्द भएको छ । ‘पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको निधन भएकोमा भावपूर्ण शोक व्यक्त गर्दछौं,’ लेखेर पसलको सटरमा टाँसिएको छ । नियमित चिया खान जाने लक्ष्मी थापा मगर -लक्ष्मी दिदी) को चिया पसल नजिकै यो पान भण्डार छ । स्थानीय युवा समूहले लक्ष्मीको घरको मूल ढोकामै ‘सन्त किसुनजी अमर रहून्’ भन्ने ब्यानरको मुनि तस्बिरसहित शोक पुस्तिका राखेको छ ।

तीन चार वर्ष अघिसम्म भट्टराई आफैं भण्डारमा पुगे पनि बिरामी हुँदै गएपछि आवागमन पातलिएको सञ्चालक श्रीनारायण साहले बताए । चिया पसल नजिकै पान पसलका साहले भने, ‘उनी गाडीबाट ओर्लदैन्थे, उनका मान्छेहरू पान लिएर जान्थे, पछि त पानी लिन सहयोगी मात्र आउँथे ।’

न्युरोडमा वेलकम पान भण्डारमा श्रद्धाञ्जलि व्यक्त गर्न पान पातको माला र पानको बिटा किन्न आइतबार बिहानदेखि लाइन लागेको छ । भट्टराईको पूर्व प्रेस सल्लाहकार भक्तपुर सूर्यविनायकका माथवरसिंह बस्नेतले पनि फूलको जस्तै पानको माला र पानको बिटा लगेका छन् । ‘२००७ सालपछि नेपालमा पान लोकपि्रय बनाउने उहाँले नै हो,’ बस्नेतले  भने, ‘किसुनजीलाई सबभन्दा बढी

मन पर्ने बनारसी मगई पानको माला र पान पसलेले आफ्नो तर्फबाट दिएको एक बिटा श्रद्धाञ्जलि स्वरूप चढाएँ ।’ २०४७ सालमा भट्टराई प्रधानमन्त्री हुँदा उनी निकट सहयोगी थिए । ‘त्यतिबेला दिनदिनै उनलाई पान पुर्‍याउने जिम्मा मेरै थियो,’ उनले भने,’नख्खु जेलमा हुँदा पनि पान लिएर आएको आगन्तुकसँग भट्टराई निकै खुसी हुन्थे ।’

प्रायः तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्याय, अमिता कपाली, वासु रिसाल, कविता भट्टराई र वरिष्ठ कांग्रेस नेता दीपकुमार उपाध्यायलाई लिएर भट्टराई पान किन्न आउने गरेको वेलकम पान भण्डारका विनोदकुमार चौरसियाले बताए । अन्तिम पटक एक वर्षअघि किसुनजी पान खान उनकोमा पुगेका थिए । ‘न्युरोडको मोडमा गाडी रोकेर सहयोगीलाई पान लिन पठाउँथे,’ चौरसियाले भने, ‘मेरो दाइ दिलकुमारले तीन पटक आफ्नै हातले किसुनजीलाई पान खुवाए ।’

भट्टराईलाई पान खुवाउनेमध्ये कांग्रेसी नेता विश्वनाथप्रसाद अग्रवाल पनि एक हुन् । ‘१८७ नम्बरको गाडी देख्नेबित्तिकै भट्टराईको सवारी भएको थाहा पाउँथ्यो,’ न्युरोडका उनले भने, ‘जुद्ध सालिकसम्म गाडीबाट एक चक्कर लगाएपछि उनी मुख्य सडकको कुनामा रोकिएर पान खान्थे ।’ अग्रवालका अनुसार २०५५ सालदेखि लगातार चार वर्ष नियमित रूपमा चार बजे पान खान न्युरोड पुग्ने गरेका

थिए । उनी भट्टराईको बाल्यकालदेखिका साथी पनि हुन् । बनारसमा हुर्के बढेका किसुनजी पहेला पात भएको र खाएपछि मुखै रातो पार्ने ‘मगई’ पानका सौकिन थिए । किसुनजी पान खाने कमलपोखरीस्थित पान पसल पनि अहिले भत्काइएको छ । पान झैं ५ सय ५५ नम्बर र सूर्या चुरोटका पनि भट्टराई सौखिन भएको उनले बताए । चिकित्सकको सल्लाहपछि २०५३/५४ सालतिर भट्टराईले चुरोटको अम्मल छाडेको उनको भनाइ छ । बनारसमा हुर्केका हुनाले गान्धीवादी दर्शनको उनमा बढी प्रभाव थियो । ‘उनी कमै बोल्थे, धेरै र उप|mेर बोल्ने मान्छेलाई मन पराउँदैनथे,’ उनी भन्छन्, ‘केही नबोली मौन भएर सुन्थे ।’

बीएल शर्मा नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङका मालिक हुन् । नर्भिकमा भर्ना हुँदा शर्माले भट्टराईलाई राजस्थानी खाना ‘वेसनको रोटी, गट्टा करी र दही वाडा’ खुवाएका थिए । जीवनको अन्तिमसम्म किसुनजीको भोजनको ख्याल राख्दै आएका शर्मा भन्छन्, ‘प्यारो मित्र थिए, महिनाको एक दुई पटक घरमै राजस्थानी खाना खान आइपुग्थे ।’ साथमा प्रायः सहयोगी अमिता कपाली हुन्थिन् । ‘अमिताजीले बढी खानबाट उहाँलाई रोक्नु हुन्थ्यो’ उनी भन्छन्, ‘उनकै ख्याल र हेरचाहले यति लामो समय बाँचेका हुन् ।’

किसुनजीसँग व्यक्तिगत र आत्मीय सम्बन्ध उनको छ । शर्मा भन्छन्, ‘दुई पटक अस्पताल भर्ना हुँदा त सेवा गर्न पाएू, तेस्रो पटक भने केही नमागी गए ।’ बाँडेगाउँमा किसुनजीको ८७ औं जन्म दिनमा ३ हजार २ सय व्यक्तिको भोजनको प्रबन्ध पनि शमर्ाले नै गरे । उनी भन्छन्, ‘भट्टराई लोभी थिएनन्, एक एक रुपैयाँ चुकाएर गए ।’

images

भोटेबहाल, न्युरोड हुँदै निवास सरेका शर्मा अहिले बाफल बस्छन् । ‘भैंसेपाटीमा बस्दासम्म हरेक शनिबार घरबाट खाना पुर्‍याउँथे,’ उनी भन्छन्, ‘तीन वर्षदेखि बाँडेगाउँ आश्रम सरेपछि यो क्रम टुट्यो, आश्रममा एक पटक जति खाना पुर्‍याए ।’

किसुनजीले शर्मालाई प्रधानमन्त्री हुँदा दुई पटक र नहुँदा एक पटक भारतीय भ्रमणमा लगेका थिए । भ्रमणमा स्वर्गीय चन्द्रशेखर र जगजीवन रामलगायत नेताको घरमा खान पुगिहाल्थे । जर्मनी र फ्रान्स जाँदा पनि उनी सँगै थिए । एक दशकअघि नयाँदिल्लीको घटनालाई शर्माले बिर्सन सकेका छैनन् । ‘भारत सरकारको पाहुना भएर नयाँदिल्ली पुग्यौं, अचानक राति हरिद्वार पुगेर बिहान र्फकने कार्यक्रम बनाए,’ त्यतिबेलाको तस्बिर देखाउँदै भने, ‘अति विशिष्ट पाहुनाले प्रयोग गर्ने घाट पुगेपछि अचानक नुहाउने कुरा गरे, उनीसँग धोती रहेनछ, मेरो धोती लगाएर नुहाए ।’ ‘मैले पाइजामा लगाएर नुहाएँ, धोती लगाउने मेरो योजना तुहिँदा उनी निकै खुसी भए,’ उनी भन्छन् । किसुनजी रक्सीको सौखिन थिए । ‘एक-दुई पेग त नभई नहुने,’ शर्मा भन्छन्, ‘कांग्रेसको पोखरा अधिवेशनपछि चिकित्सकले मना गरेपछि उनले खान छाडे ।’ ठिक्कको र समयमा खाने र सुत्ने किसुनजीको बानी थियो ।

images

शर्माका अनुसार भट्टराई बिहान एक अण्डा, टोस्ट र दूध खान्थे । गीता गरेपछि १० बजेतिर दाल, भात, तरकारी र अचार खाने गर्थे । केही आरामपछि ३ बजेतिर पान खान मन पर्ने ठाउँ निस्कने गरेको शर्माले

सुनाए । किसुनजी मासु कमै मन पराउँथे । भट्टराईको पान खाने अनौठो शैली रहेछ । ‘पाँच मिनेट खाने र थुकिदिने गर्थे,’ उनले भने । शर्माको किसुनजीसँग उठबस ६३ वर्षअघि इन्द्रचोकबाट सुरु भएको रहेछ । ‘बिहान ६ बजे किसुनजी मित्रहरूसँग मेरो बुबाको पसलमा सुहारी, हलुवा र जेरी खान आइपुग्थे,’ उनले भने, ‘सूर्यप्रसाद उपाध्याय र बीपी प्ा्रायः सँगै हुन्थे, कहिले गणेशमानसिंह पनि साथमा हुन्थे ।’

images

२००४ मा इन्द्रचोकस्थित महाराजजीको पसल (शर्माको बुवा) को नाम पछि अमृत भण्डार रह्यो । मूल घर राजस्थान जयपुर भएका शर्माको पाँच पुस्ता नेपालमै बित्यो । शर्मा पनि इन्द्रचोक चोखाचे गल्लीमा जन्मेका थिए । किसुनजी खास्टो ओढेर त्यहाँ पुग्थे । दही बाडा, पानीपुरी, रावडी र लालमोहन पनि मन

पराउँथे । २०१२ सालमा मारवाडी सेवा समिति अघिल्तिर अम्रपाली खाजाघर खोल्दा दस जनाको टोली लिएर किसुनजी पुग्ने गरेको उनी अझैं संझिन्छन् । ‘चियाको पैसा त कहिल्यै तिर्दैनथे, मित्र भएकाले मैले पनि एक कप चियाको पैसा कहिल्यै मागिन,’ शर्मा भन्छन् । त्यसको तीन वर्षपछि किसुनजीसँग पसलमा उनको नियमित भेटघाट भइरह्यो । २०१७ साल पुस १ गते जेल परेपछि एक अध्याय समाप्त भयो ।

शर्माले सुन्दरीजलमा बन्दी भएका किसुनजी र उनका मित्रहरूलाई हरेक शनिबार खाना पुर्‍याउन छाडेनन् । उनले २०१७ सालमा महाराजगन्ज लक्ष्मी निवासमा कांगे्रेस महाधिवेशनका क्रममा किसुन बाबु र बीपी बाबुलाई खाना खुवाएको आरोपमा ८० दिन केन्द्रीय कारागारमा समेत बिताउनुपर्‍यो । शर्माभन्दा किसुनजी पाँच महिना कान्छो र गिरिजा बाबु एक महिना जेठो थिए ।