भारतमा दिल्ली, मुम्बई लगायतका ठाउँहरुमा पूर्वप्रधानमन्त्री भट्टराईलाई श्रद्धाञ्जलि

प्राप्त समाचार अनुसार नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले सम्पूर्ण प्रवासी नेपालीहरूलाई स्तब्ध तुल्याएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिले जनाएको छ । समितिले भारतमा रहेका आफ्ना सबै कार्यालयहरूमा शोकपुस्तिका पनि राखेको छ ।

नेजस भारतका केन्द्रीय उपाध्यक्ष डा. एस. डी सिंहका अनुसार नेजसले दिल्ली, मुम्बई, हैदरावाद, भोपाल, भद्रास, चेन्नईलगायत ठाउँका कार्यालयहरूमा भट्टराईको तस्बिरसहित शोकपुस्तिका राखिएको छ । आफ्ना क्षेत्रका कार्यालयहरूमा प्रवासी नेपालीहरू जम्मा भएर शोकपुस्तिकामा भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गर्दै हस्ताक्षर गरेको सिंहले जनाएका छन् । नेजस भारतले भट्टराईको १३ औं पुण्य तिथिका दिन भारतका ठाउँ-ठाउँमा श्रद्धाञ्जलि सभा आयोजन गर्ने भएको छ ।

भट्टराईको अन्त्येष्टिमा सरिक हुन शनिबार नै नेजस भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे काठमाडौं गएका छन् । यसैबीच नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रीय समितिले शनिबार मुम्बईको भायन्दरमा श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।