प्रधानमन्त्री झलनाथ खनालद्वारा बिना विभागीय मन्त्रीद्वय पौडेललाई रक्षा, तुलाधारलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं – संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार प्रधानमन्त्री झलनाथ खनालले बिना विभागीय मन्त्रीद्वय विष्णु पौडेल र गंगालाल तुलाधारलाई सोमबार जिम्मेवारी तोकेका छन् ।

एमाले स्थायी कमिटी निर्णयलगत्तै प्रधानमन्त्री खनालले गृह मन्त्रीमा प्रस्तावित पौडेल र तुलाधारको जिम्मेवारी तोकेका छन् । तुलाधारलाई भने यसअघि नै शिक्षा मन्त्रीमा प्रस्ताव गरिएको थियो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पौडेललाई रक्षा र तुलाधारलाई शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । ‘अहिलेसम्म ‘पोर्टफोलियो’ नभएका हाम्रा दुई मन्त्रीलाई प्रधानमन्त्रीले ‘पोर्टफोलियो’ तोक्ने निर्णय भयो,’ बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले भने, ‘जसअनुसार अब विष्णु पौडेलले रक्षा र गंगालाल तुलाधारले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुले छिट्टै मन्त्रालयमा गएर जिम्मेवारी निर्वाह गर्नुहुने छ ।’

पहिलो चरणमा मन्त्री नियुक्त एमाले नेताहरु भरतमोहन अधिकारी, पौडेल र तुलाधार मध्ये अधिकारीबाहेकले जिम्मेवारी पाएका थिएनन् । अधिकारीलाई भने यसअघि नै उपप्रधानमन्त्री एवं अर्थमन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

यसअघि स्थायी कमिटी बैठकले पौडेललाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर माओवादीले गृह मन्त्रालयको अडान नछाडेपछि तत्काललाई उक्त मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने र पछि माओवादीलाई दिने सहमति भएको थियो ।

अन्य मन्त्रीका विषयमा भने सोमबारको स्थायी कमिटी बैठकले निर्णय गर्न सकेन । ‘चार जना बरिष्ठ कमरेडहरु उपस्थित हुन नसकेकाले अरु मन्त्रालयबारे निर्णय हुन सकेन । यसबारे स्थायी कमिटीका सवै सदस्य उपस्थित बैठकले निर्णय गर्नेछ,’ उपाध्यक्ष गौतमले भने । बैठकमा उपाध्यक्षद्वय विद्या भण्डारी, अशोक राईसहित स्थायी कमिटी सदस्यद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली भने उपस्थित भएनन् । नेपाल जापानमा छन् भने ओली राजधानी बाहिर छन् ।

बैठकले पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको निधनप्रति गहिरो शोक प्रस्ताव पारित गरेको छ ।