फागुन महिना भित्रै सरकारलाई पूर्णता दिन प्रधानमन्त्री झलनाथ खनाल र माओवादी पुष्पकमल दाहालबीच सहमत

फागुन महिना भित्रै सरकारलाई पूर्णता दिन प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमत भएका छन ।

 

मंगलबार विहान बालुवाटारमा प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको भेटमा सरकारलाई पूर्णता दिएर शान्तिप्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउने सहमति भएको हो । आधा घण्टा लामो भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खनालले हिजोको स्थायी समिति बैठकले विष्णु पौडेललाई रक्षा र गंगालाल तुलाधरलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिने निर्णयबारे माओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

 

माओवादी अध्यक्ष प्रचण्डले निर्णयप्रति खुशी व्यक्त गर्दै गृहमन्त्रीको पनि छिटो टुङ्गो लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।


माओवादी अध्यक्ष प्रचण्ड उपप्रधानमन्त्री समेत रहेका माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका साथ बालुवाटार पुग्नु भएको थियो । सरकार गठन भएको एक महिना पुगिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।