अगामी जेठ १४ गते नयाँ संविधान जारी गर्नु अगावै लडाकुको समायोजन कार्य सम्पन्न गरिसक्ने शान्ति तथा पुनःनिर्माण मन्त्रीद्बारा दृढता ब्यक्त

काठमाडौ – शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले अगामी जेठ १४ गते नयाँ संविधान जारी गर्नु अगावै लडाकुको समायोजन कार्य सम्पन्न गरिसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षत्कारमा मन्त्री पुनले समायोजन र संविधान निर्माणको कार्य सँगसँग अगाडि बढे पनि संविधान जारी हुनु अगावै सेना समायोजनको कार्य सम्पन्न गर्ने दृढता ब्यक्त गरेका हुन् ।

‘शान्ति प्रक्रिया अर्न्तगत पहिले समायोजनको कार्य सम्पन्न गरेर पुन:स्थापना कार्य सम्पन्न गरिनेछ’ उनले भने, ‘त्यसपछि मात्रै संविधान जारी हुन्छ ।’

उनले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन तत्कालै सरकारले सोही अनुसारको समायोजनको कार्ययोजना ल्यानेपनि बताएका छन् ।

जेठ १४ गते अगावै सेना समायोजको कार्य सम्पन्न भए पनि पुन:स्थापनाको कार्य सम्पन्न गर्न भने दुई देखि पाँच वर्षसम्म लाग्न सक्ने भन्दै मन्त्री पुनले समायोजन भने समुहमै हुने स्पष्ट पारे ।

उनले यसअघि नै प्रमुख दलवीच माओवादी लडाकु रहेको छुट्टै फोर्स बनाउने वा माओवादी लडाकु र सरकारी सुरक्षा अंग मिलाएर छुट्टै फोर्स बनाउने विषयमा सहमति नजिक पुगिसकेको उनले बताए ।

साथै प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष बीच अघिल्लो सरकारले ल्याएको समायोजनको चार वटा मोडल मध्ये सेनामा, प्रहरीमा, ससस्त्रमा वा छुट्टै फोर्स निर्माण गर्ने विकल्प मध्येबाट एक विकल्पमा सहमति गरेको दावी समेत उनले गरे ।