नयाँ दिल्ली – भारत भ्रमणमा रहेका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले मंगलवार पनि राजनीतिक भेटघाटलाई निरन्तरता दिएका छन् ।
उनले लोकसभामा विपक्षी दलकी नेत्तृ सुष्मा स्वराज र कंग्रेस आइका विदेश विभाग प्रमुख करण सिंहसंग छुट्टाछुट्टै भेटवार्ता गरे । ती भेटमा दुवै भारतीय नेताले शान्ति प्रक्रिया र संविधान निर्माण निर्धारित अवधिमा पूरा भएको भारतले हेर्न चाहेको बताएका थिए ।
भेटमा सहभागी थापाका सहयोगीका अनुसार, उनीहरुले नेपालमा स्थायित्व र समृद्धिका लागि सघाउन भारत सधैं तयार रहेको धारणा राखेका थिए ।
थापाले सोमवार भारतीय सत्तारुढ गठवन्धनकी अध्यक्ष सोनिया गान्धी, प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, विदेशमन्त्री एसएम कृष्णा लगायतसंग भेटेका थिए ।
नियमित उपचारसंगै राजनीतिक भेटघाटका लागि आइतवार यहाँ आएका थापा शुक्रवार स्वदेश फर्कनेछन् ।



