शिक्षकहरुको अधिकारको माग गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक संगठनद्बारा आज मुलुकभरका निजी विद्यालय बन्द

– रुबी रौनियार, नागरिक

 

काठमाडौं –  शिक्षकहरुको अधिकारको माग गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक संगठन नेपाल ईष्टुले बुधबार मुलुकभरिका निजी विद्यालय बन्द गर्ने भएको छ। सरकार र निजी विद्यालय संचालकहरुले विगतमा भएका संझौता कार्यन्वयन नगरेको भन्दै १३ बुँदे माग सहित बुधबारदेखि आन्दोलनमा उत्रिने भएको हो।

 

नेपाल इष्टुले २०६३ चैत्र १९ र २०६४ असार १ मा नेपाल सरकारको रोहवरमा सरोकारवालाहरुसँग र २०६६ कात्तिक ११ मा मन्त्री स्तरीय भएको सहमती अविलम्ब कार्यन्वयन गराउन संकेतिक विरोध स्वरुप आन्दोलनको पहिलो दिन एक दिन बन्द गर्ने इष्टुले जनाएको छ।

विद्यार्थीको वार्षिक परीक्षाको पुर्वसन्ध्या र कक्षा ८ को जिल्ला स्तरीय परिक्षा संचालन भइरहेको समयमा विद्यालय बन्दले परीक्षा प्रभावित हुने छ।

बारा , पर्सा , मोरङ , इलामलगाएतका अन्य जिल्लामा फागुन २५ देखि कक्षा ८ को परीक्षा सुरु हुने कार्यक्रम छ। अन्य जिल्लामा यसै सातादेखि जिल्लास्तरीय परिक्षा हुँदैछ। निजी विद्यालयहरुको नर्सरीदेखि कक्षा ९ सम्मको अन्तिम परीक्षा भने सुरु भइसकेको छैन।

बाराका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जिल्लामा ३० निजी विद्यालय रहेको बताउँदै बन्दले विद्यार्थीको परीक्षामा ठूलो असर पार्ने बताए।


एसएलसी परीक्षाको अगावै कक्षा आठको परिक्षा सकाउने लक्ष्य भएकोले फागुन २५ देखि चैत्त २ सम्म परीक्षाको तलिका बनाएकोमा बन्दले परीक्षाको समग्र कार्यक्रमनै प्रभावित हुने देखिएको छ।


‘सरकारी र निजी दुबैको जिल्ला स्तरीय परीक्षा एकै समयमा हुन्छ,’ सिँहले नागरिकसँग भने ‘ निजी विद्यालय बन्द भएमा समग्र परीक्षामा नै असर पर्छ। ‘


काठमाडौं जिल्लामा फागुन २६ देखि जिल्ला स्तरीय परिक्षा सुरु हुने भएकोले परिक्षाको पुर्व सन्ध्यामा निजी विद्यालयहरु बन्द गराउनु मर्यादा विपरित कार्य भएको काठमाडौं जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाद प्रसाइले जनाए ।

कतिपय निजी विद्यालयहरुमा अन्तिम परीक्षा संचालन भइरहेको अवस्थामा बुधबारको विद्यालय बन्दले विद्यार्थीको परिक्षा विथोलिने प्याब्सनका केन्द्रिय सचिव विमल थापाले बताए।



‘कतिपय निजी विद्यालयहरुको नर्सरीदेखि कक्षा ९ सम्मको वार्षीक परीक्षा बन्दको कारण प्रभावित भएको छ ‘ थापाले भने।


‘कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको हुने समयमा निजी विद्यालय बन्द गर्दा सिट प्लानिङदेखि परीक्षा संचालनका सबै कार्य प्रभावित भएको छ।’

एनप्याबसनकी अध्यक्ष गीता राना शिक्षकहरुको संगठनले विद्याय बन्द गराएर आन्दोलन गर्नु शक्तिको दुरुपयोग गरेको बताइन्। विना सुचना विद्यालय बन्द गराएर शिक्षकहरुले मर्यादा विपरित काम गरेको उनको भनाई छ। बन्दले एसएलसीका परिक्षा केन्द्र भएका विद्यालयहरुलाई प्रभाव पारेको समेत उनले जनाइन्।



‘बन्दले फागुन १९ देखि ३० सम्म निजी विद्यालयहरुले संचालन गरेको एसएलसी प्रिवोर्ड परिक्षा प्रभावित भएको छ ‘ राणाले भनिन् ‘ नेपाल इष्टुले नयाँ सोचको साटो पुरानै मागहरु लिएर आन्दोलनमा उत्रिनु निजी विद्यालय संचालकहरुसँग निहुँ खोज्ने काम हो ।’



नेपाल इष्टुले शिक्षक कर्मचारीका न्यूतम पेशागत मागहरु ( नियुक्तिपत्र , प्रचलित तलब भत्ता , संचय कोष , विदा विमा , उपदान ) पुरा गर्नु पर्ने , युनियनका सबे तहका सिमतिले सरकार र सरोकारवालासँग गरेको सबै प्रकारका सहमति कार्यन्वयन गर्नुपर्ने , शिक्षक कर्मचारीका मौखिक नियुक्ति र मौखिक बर्खास्ती गर्ने चलनको अन्त्य हुनु पर्ने माग राखेका छन्।