काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादीलाई सरकारमा सामेल गराएपछि प्रधानमन्त्री झलनाथ खनाल अब संसद्को दुई तिहाईको प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा लागेका छन् । त्यसका लागि मधेसी जनअधिकार फोरम र तमालोपा नेपाललाई सरकारमा ल्याउने उनको कसरत छ ।
समाचार अनुसार फोरमसँग उनले पटक-पटक छलफल गरिसकेका छन् । औपचारिक निर्णय नगरे पनि फोरम सरकारमा आउने निश्चितप्रायः भएको प्रधानमन्त्री निकट नेताहरूले बताएका छन् । महेन्द्र यादवले नेतृत्व गरेको तमलोपा नेपालले पनि सरकारमा सामेल हुने संकेत दिइसकेको छ ।
फोरम र तमलोपा नेपाल सामेल हुनेबित्तिकै खनाल सरकारको पक्षमा संसद्मा दुई तिहाई पुग्छ । प्रधानमन्त्री चयन हुँदा खनालको पक्षमा ३ सय ६८ मत थियो । २५ सभासद रहेको फोरम र ९ सभासद रहेको तमलोपा नेपाल सामेल हुँदा खनाल सरकारको पक्षमा ४ सय १ भन्दा बढी पुग्छ ।
फोरमलाई परराष्ट्र, ऊर्जा र वाणिज्य तथा आपूर्तिमध्ये दुई मन्त्रालय दिने एमाले र माओवादीको योजना छ । भरसक ऊर्जाबाहेकका दुई मन्त्रालय दिने प्रस्ताव माओवादी र एमालेले गरेका छन् । त्यस्तै, तमलोपा नेपाललाई पनि आकर्षक मन्त्रालय दिने तयारी छ । अबको चरणमा माओवादी र एमालेका बाँकी मन्त्रीसहित अन्य दलहरूलाई समेटेर मन्त्रिपरिषद् पूर्ण आकारको बनाउने तयारी प्रधानमन्त्रीको छ । गत साता माओवादीका चार मन्त्री सामेल भएपछि मन्त्रिपरिषद् हाल आठ सदस्यीय मात्र छ ।
फोरमले सरकारमा सहभागी हुन मधेस मुद्दालाई प्राथमिकता दिनुपर्ने, सरकारसँग यसअघि भएका सम्झौताहरूको कार्यान्वयन हुनुपर्ने लगायत माग राखेको छ ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागिताका लागि आफ्नो दलले दिएको आधारपत्रलाई नै प्राथमिकता दिने बताएका छन् । यादवले संविधान निर्माण, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र मधेसको मुद्दामा सम्बोधन गर्ने काम भए मात्र फोरम सरकारमा जान सक्ने बताए । ‘मुद्दा छोडेर जाने कुरै हुँदैन,’ यादवले भने । छलफलमा संलग्न एमाले नेताहरूका अनुसार फोरमका आधारपत्रलाई कार्यान्वयन गर्न प्रधानमन्त्री सकारात्मक छन् । ‘फोरमसँगको छलफल निकै सकारात्मक छ,’ दुई दलबीचको छलफलमा संलग्न प्रधानमन्त्रीनिकट एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले भने, ‘उहाँहरूको आधारपत्रलाई कसरी सम्बोधन गर्ने भन्ने कुराकानी भएको छ, चाँडै यो टुंगो लाग्छ ।’ सरकारको संयुक्त नीति तथा कार्यक्रममा फोरमले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न सकिने एमालेको धारणा छ ।
फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ता चीन भ्रमणमा रहेकाले उनी फर्केपछि फोरमले सरकारमा जाने विषमया औपचारिक निर्णय गर्ने सम्भावना छ । फोरमको औपचारिक निर्णय आउनेबित्तिकै तमलोपा नेपालसहितका सरकारमा सामेल हुन चाहने सबै दलसँग छलफल हुनेछ । माले, माले समाजवादी, संयुक्त, सद्भावना आनन्दीदेवीलगायत दललाई पनि एक/एक वटा मन्त्रालय दिएर सामेल गराउने सहमति दुई दलबीच भइसकेको छ । ‘मधेसी दलसँगको कुरा टुंगिएपछि अन्य सबैसँग छलफल गरेर पूर्णता दिन प्रधानमन्त्रीको योजना छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘त्यसका लागि धेरै समय लाग्दैन ।’
सरकारको न्यूनमत साझा कार्यक्रमको तयारी पनि भइहरेको उनले जनाए । सरकारमा आउने सबै दलहरूको अन्तिम टुंगो लागेपछि साझा कार्यक्रमलाई अन्तिम रूपमा दिने उनले बताए ।



