माओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ तीन टुक्रा

काठमाडौं – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ शुक्रबारदेखि तीन टुक्रा भएको छ ।

उपाध्यक्ष बाबुराम भट्टराई निकट युनियन उप-महासचिव लालध्वज नेम्वाङ नेतृत्वको समूहले नयाँबजारस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरेपछि संगठन औपचारिकरुमा तीन टुक्रा भएको हो । नेम्वाङ समूहले देशव्यापी दबाब अभियानका लागि भेला आयोजना गरेको जनाएका छन् ।

भेलामा उपाध्यक्ष भट्टराईसहित स्थायी समिति सदस्य एवं भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य देवेन्द्र पौडेललगायत नेताहरु उपस्थित छन् । कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

संगठनको क्षयीकरण रोक्न अभियान सञ्चालन गर्ने भनिए पनि नेम्वाङ समूह युनियन अध्यक्ष शालिकराम जम्मरकट्टेलसँग असन्तुष्ट छन् । जम्मरकट्टेल समूहले १७ फागुनमा नेम्वाङलाई आक्रमण गरेको बन्धक बनाएको आरोप छ ।

जम्मकट्टेलसँग असन्तुष्ट माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य निकट युनियन उपाध्यक्ष बदि्र बजगाईँ नेतृत्वले यसअघि नै छुट्टै समूह खडा गरिसकेका छन् । उक्त समूहले शनिबार राजधानीमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाएको छ ।

माओवादी स्थायी समिति बैठकले युनियन अध्यक्ष जम्मरकट्टेललाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको थियो भने बजगाईँ नेतृत्वको समूह विघटन गरेको थियो । जम्मरकट्टेललाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएकोमा बजगाईँ र नेम्वाङ समूहको असन्तुष्टि थियो ।