२०४७ सालको संविधान पुनःस्थापना गराउन विभिन्न राजनीतिक दलका पुराना नेताहरुद्वारा संघर्षको घोषणा

काठमाडौ । आगामीजेठ १४ गते नयाँ संविधान जारी हुने सम्भावना घट्दै गएको बेला संविधानसभा भंग गरेर २०४७ सालको संविधान पुनःस्थापना गराउन विभिन्न राजनीतिक दलका पुराना नेताहरुले संघर्षको घोषणा गरेका छन् ।


आज काठमाडौमा २०४७ सालको संविधान पुनःस्थापना जनआन्दोलन केन्द्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरेर २०४७ सालको संविधान पुनःस्थापना गर्न माग गरेको हो ।


पत्रकार सम्मेलनमा २०४७ सालको संविधानको सार्थकता पुष्टि गर्दै नेपाल कांग्रेस राष्ट्रबादीका अध्यक्ष रामबाबु प्रसाई, नेविसंघका संस्थापक संयोजक देबेन्द्र नेपाली, पूर्वमन्त्री दिनबन्धु अर्याललगायतका अवधारणपत्र प्रस्तुत गरेका थिए ।


समितिका सहसंयोजक देबेन्द्र नेपालीले नेपाल बचाउँन २०४७ सालकै संविधानको आवश्यकता रहेको भन्दै समिति गठन गरेर आन्दोलनको तयारी गरेको जानकारी दिनुभयो । उहाँले राजनीतिक दलहरुलाई संविधानसभा भंग गरेर पुरानै संविधान जारी गर्न जनतालाई उत्प्रेरित गर्ने  र दलहरुलाई दवाव दिने बताउनुभयो ।