त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियुको चुनाव चैतमै हुने भएकाले तयार रहन विद्यार्थी संगठनहरू निर्देशन

काठमाडौं – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैतमै हुने भएकाले तयार रहन विद्यार्थी संगठनहरू निर्देशन दिएको छ । विभिन्न विद्यार्थी संगठनलाई शुक्रबार बैठकमा बोलाएर निर्देशन दिएको हो ।

‘स्ववियु निर्वाचन गराउन तत्पर छौं,’ बैठकपछि विश्वविद्यालयका रेक्टर सूर्यलाल अमात्यले भने, ‘चैतमै सम्पन्न गर्न विद्यार्थी संगठनको राय लिने काम भएको छ ।’

बैठकमा उपस्थित विद्यार्थी प्रतिनिधिले स्ववियु चुनाव हुनैपर्ने एकमत राखेका थिए । विद्यार्थी संगठनहरूबीच स्ववियु विनियम संशोधन गरी ‘समानुपातिक’ प्रणालीमा हुनुपर्ने मतभेद भने जारी छ । नेविसंघबाहेक अन्य संगठनले समानुपातिक निर्वाचन हुनुपर्ने भनेका छन् । विनियम संशोधनका निम्ति त्रिवि परिषद्को बैठकले मात्र सक्ने र तत्काल संशोध सम्भावना कम रहेकोसमेत बैठकमा जानकारी गराइएको थियो ।

समानुपातिक प्रणालीको निर्वाचनमा स्वयुविको उम्मेदवारी विद्यार्थी नेता नभई संगठनलाई मत दिलाउने र बहुमत प्राप्त गर्ने संगठनले प्रमुख पदहरू लिने प्रस्ताव गरेका छन् । उनीहरूले पुरानै प्रणालीमा स्ववियु निर्वाचनले भ्रष्टाचार, विवाद बढाएकाले त्यसको सट्टा नयाँ विनियम हुनुपर्ने तर्क गरेका छन् ।

तर नेविसंघ, अखिल छैटौं र प्रज्ञा परिषद्ले विद्यमान विनियमअनुसारै प्रत्यक्ष निर्वाचन हुनुपर्ने मत राखेको नेविसंघ अध्यक्ष प्रदीप पौडेलले बताए । ‘समानुपातिक नाममा संगठनात्मक केन्द्रीयता लाद्न हामी चाहँदैनौं,’ विनियम परिवर्तन गर्ने समय ढिलो भइसकेको उल्लेख गर्दै उनले भने, ‘यतिखेर समानुपातिक निर्वाचनमै अल्भिmने हो भने चैतमा स्ववियु निर्वाचन सम्भव हुन्न ।’ लोकतान्त्रिक पद्धतिअनुसार प्रत्यक्ष र स्वतन्त्र नेतृत्व छनोट हुनुपर्ने उनले बताए ।