संयुक्त राष्ट्र संघद्वारा धनकुटालाई बारुदी सुरुङ् मुक्त जिल्ला घोषणा


 

धनकुटा – प्राप्त समाचार अनुसार  संयुक्त राष्ट्र संघले धनकुटालाई बारुदी सुरुङ् मुक्त जिल्ला घोषणा गरेको छ । जिल्लामा सबै प्रकारका बारुदी सुरुङ् मुक्त गरिएको औपचारिक घोषणा बिहीबार विशेष कार्यक्रमका बीच गरिएको हो ।

 

समाचार अनुसार  द्वन्द्वरत् अवस्थामा सैनिक इलाकामा जमीन मुनि गाडिएका विष्फोटक पदार्थ डीमाइनर टोलीले निस्कृय पारेपछि अन्तिम निरीक्षण गरी अब कुनै प्रकारका बारुदी सुरुङ् नभएको प्रमाणित गरिएको राष्ट्र संघका प्रतिनिधि श्यामहरी अधिकारीले जानकारी दिए । धनकुटा र तेह्रथुम जिल्लाको सिमावर्ती गणेशटारमा आयोजित कार्यक्रममा अधिकारीले नेपाली सेनाको श्रीमेहर गणका गणपति पुरुषोत्तम बिक्रम केसीलाई बारुदी सुरुङ मुक्त जिल्लाको प्रमाणपत्र प्रदान गरे । यसैगरी नेपाली सेनाले जिल्लामा राखिएका सबै बिस्फोटक पदार्थ निस्कृय पारेको जानकारीयुक्त पत्र निमिक्त प्रमुख जिल्ला अधिकारी ओमकार न्यौपानेलाई हस्तान्तरण गरेको छ ।

 

भेडेटार तथा गणेशटारस्थित टेलिकमको रिपिटल टावर क्षेत्रमा बिछ्याइएको ३ सय २५ थान बिस्फोटक पदार्थ निस्कृय पारिएको श्रीमेहर गणका गणपति केसीले जानकारी दिए । ती स्थानमा पीयनडी ६ नामको विस्फोटक २ सय ९६ र पीओएमजेट २ नामको विस्फोटक पदार्थ विछ्याईएको सेनाले जनाएको छ । उक्त स्थानमा २०५८ सालमा विस्फोटक पदार्थ विछ्याइएको थियो । गत पुषदेखि विस्फोटक पदार्थ राखिएको स्थान खोजी गरी निस्कृय पारिदै आएको थियो । निस्कृय पारिने क्रममा अमलदार टंक श्रेष्ठ सहित दुइ जना घाइते भएको सेनाले जानकारी दिएको छ ।

 

नेपालमा रिपिटर टावर रहेका ५३ स्थानमा यसप्रकारका विस्फोटक पदार्थ विछ्याइएको छ । अब रोल्पा, सल्यान लगायत ९ स्थान बाहेक सबैमा संयु्क्त राष्ट्र संघको निगरानीमा नेपाली सेनाको तालिम प्राप्त डीमाइनर टोलीले निस्कृय पारिसकेको टोली प्रमुख सेनानी पवनकुमार खड्काले बताए । यसैगरी दाङ्मा काम भइरहेको छ भने इलाममा शुक्रबारदेखि निस्कृय पारिने तयारी गरिएको सेनानी खड्काले जानकारी दिए । ‘विस्फोटक पदार्थ विछ्याउन सजिलो भएपनि निस्कृय पार्न कठिन हुने गरेको छ,’ खड्काले अनुभव सुनाउँदै भने- ‘विशेष तालिम र प्रविधि भएकाले जोखिम भने कम रहेको छ ।’ आगामी २०११ को जुलाइभित्र बारुदी सुरुङ मु्क्त गर्ने राष्ट्र संघ र नेपाल सरकारबिच सम्झौता भइसकेकोले बाँकी स्थानमा यस सम्बन्धि काम तिब्र रुपमा भइरहेको संघका प्रतिनिधिले बताए । शान्ति प्रक्रिया शुरु भइसकेको लामो समय बितेपनि बारुदी सुरुङ नहटाइँदा कयौंले ज्यान गुमाइसकेका छन् ।