धनगढी – धनगढीबाट प्राप्त समाचार अनुसार एकीकृत नेकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राहात दिने गरी बजेट ल्याउने तयारी भइरहेको बताएका छन। उनले अर्कोहप्ता सरकारले पूर्णता पाउने र छिट्टै सेना समायोजनको कार्य सुरु हुने पनि बताए।
शनिबार पूर्व-पश्चिम राजमार्गअन्तर्गत चौमालास्थित नवनिर्मित शहिद स्मृति प्रवेशद्वारको उद्घाटन गर्दै शहिदका सपना बमोजिमको परिवर्तन हुन दिन नचाहाने तत्वको षडयन्त्र पूरा नहुने बताए।
‘हामी सरकारमा गएका बेला जनतालाई राहत हुने कार्यक्रम ल्याएका थियौं। अहिले भिन्न रुपमा सरकारमा गएका छौं।’ उनले भने- ‘जनतालाई राहात दिनेगरी बजेट ल्याउने तयारी भइरहेको छ।’ सुदुरपश्चिम क्षेत्र विकासका लागि पनि केही महत्वपूर्ण योजना ल्याइने उनले बताए।
मेडिकल कलेज, आर्थीक क्षेत्र निर्माण, सडक लगायतका महत्वपूर्ण योजनाका लागि बजेट छुट्याइने उनले बताए। कैलालीको गदरीया गाविसमा रहेको कोइलहुवा कोइलही तलुवा महोत्सवको उद्घाटन गर्न शनिबार धनगढी आएका प्रचण्डले धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्को साता सरकारले पूर्णता पाउने बताए।
‘सरकारले अर्को हप्ता पूर्णता पाउँछ’ उनले भने। समयमै संविधान बन्ने उल्लेख गदै जनतालाई ढुक्क हुन उनले आग्रह गरे। ‘संविधानसभाका उप-समितिहरु काम गरिरहेका छन्, अब समयमै संविधान बन्छ’ उनले भने।
‘सेना समायोजनको मोडालिटी र नम्सका बारेमा सहमति भएमा संविधान बन्न दुई महिना पनि लाग्दैन।’
सेना समायोजन सम्बन्धि ५० दिने कार्यक्रमबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले विशेष समितिले मागेको कर्मचारीको नियुक्ति र अन्य सुझावका लागि पाँच कमिटि गठन गर्न समयसीमा तोकीएको बताए।
उनले तीन दलको बैठकले यी दुवै निर्णय गरेको र आफूले यसको जानकारी प्रधानमन्त्रीलाई गराइसकेको बताए। माओवादी सेना समायोजन विशेष समितिका अध्यक्षसमेत रहेका प्रचण्डले सेना समायोजन विषेश समिति सक्रिय भइसकेको बताए।
बिहीबार सञ्चार उद्यमी युनुस अन्सारीमाथि केन्द्रीय कारागारमा भएको दुर्घटनाप्रति आफू गम्भीर भएको उनले बताए। ‘यो धेरै गम्भीर प्रवृतिको घटना हो, हिजो मात्रै सरकारसँग कुरा भएको छ, यो नेपालको राष्ट्रिय स्वाधीनता र स्वन्त्रताप्रतिको आक्रमण हो’ उनले भने,यो घटनाको सबै रहस्य उद्घाटन हुनुपर्छ।
महोत्सव उद्घाटनमा भने राजनीतिक भाषणभन्दा पनि उनले महोत्सवमा प्रस्तुत गरिएका पाँच दर्जन थारु आदिवासीको झाँकीहरुको प्रशंसामा समय खर्चेका थिए। उनले गदरिया गाउँमा विद्युतीकरण र स्थानीय भुराहा नदीमा तटबन्धका लागि आफू प्रतिबद्ध रहेको बताए। कार्यक्रम महोत्सवका संयोजक गरिबदास चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। एकसय स्टल रहेको महोत्सव फागुन ३० गतेसम्म चल्ने संयोजक चौधरीले बताए। थारु समुदायको मात्रै बसोवास रहेको सो क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना गरिएको स्थानीयले बताएका छन्।