गोरखा – गोर्खाबाट प्राप्त समाचार अनुसार माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राम्रो काम गर्दा गल्ति हुन्छ भने ‘भीमसेन थापा जस्तो सेरिएर मर्न’ तयार भएको बताए ।
समाचार अनुसार गृह जिल्ला गोरखा परिषद्को प्रमुख अतिथिमा माओवादी भित्रबाटनै आफूलाई रोक्ने प्रयास गरेको बिषयमा डाक्टर बाबुराम भट्टराईले सो कुरा बताएका हुन् । ‘देशमा केही गर्न खोज्दा भीमसेन थापा सेरिएर मर्नु परेको थियो’ जिल्लाका कांग्रेस एमालेले समेत आफ्नो राम्रो बिषयलाई राम्रो भन्न कञ्जुस्याँई नगरेको बताउदै भट्टराईले भने, ‘के तपाईंहरु पनि बाबुराम त्यस्तै होस भन्ने चाहानुहुन्छ ?’
जिल्ला विकास समति गोरखाको चौथो परिषदको उदघाटन कार्यक्रममा उनले गोरखा र गोरखा बाहिरका जनताको नाममा केही गर्न खोज्दा खुट्टा तानेर न्याक्ने काम भइरहेको दावी गरे । ‘अहिलेसम्म मैले जिल्लाका लागि गरेका कामहरु अपराध स्वरुपका थिए ?’ आफूलाई प्रमुख अतिथि हुनबाट रोक्ने अध्यक्ष पुष्पकमल दाहाल पक्षका जिल्ला स्तरिय नेताहरुप्रति प्रतिप्रश्न गर्दै उनले भने, ‘हुन भने अन्तरआत्मालाई नढाटी हुन भन्नुस् । देश र जनताका नाममा यस्ता हजार गल्ति गर्त तयार छु ।’
प्रत्येक महिना जिल्ला आउने, योजनाका बिषयमा बुझ्ने, जनतासंग अन्तरक्रिया गर्ने गर्दासमेत आफूलाई न्यायपुर्ण हिसाबमा अरुले नसोचिदिएको उनको आरोप थियो । करिब ४५ मिनेट जिल्लाका बिकासका बिषयमा भाषण गरेका भट्टराईले भने, ‘हामी राष्ट्रिय, अन्तराष्ट्रिय निकाय बनाउन चाहन्छौं । त्यसको सुरुवात एक न एक ठाउँबाट गर्नुपर्छ । म गोरखाबाट गर्न चाहान्छु ।’
आफूलाई परिषदको प्रमुख अतिथि बनाउने बिषयमा बिबाद भएको कुरा पत्रपत्रिकाको समाचार पढेको थाहा पाएको बताउँदै उनले बिबाद गर्नेहरुलाई ‘नबमण्डले’को संज्ञा दिए । ‘कसैले आफूमा ठूलो दम्भ भएको प्रकट गर्छ भने पञ्चायतको अन्त्य भएझै नबमण्डले पनि सकिनेछन्’ उनले भने, ‘सबै पार्टीका मान्छेहरु यहाँ हुनुहुन्छ म आबेगमा आउन चाहान्छ । आफूलाई ठूलो ठान्नेले यो कुरा बुझे हुन्छ ।’
परिषदमा दाहाल पक्षले अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाउने निर्णय गरी भट्टराईलाई अतिथि मात्र बनाउने तयारी गरेको थियो । जिल्ला नेताले भट्टराईलाई परिषदमा प्रमुख अतिथि नबनाए परिषद् रोक्ने भनेपछि पूर्व निर्णय सच्याइ उनीनै प्रमुख अतिथि भएका हुन् । उनलाई प्रमुख अतिथि बनाउने बिषयमा गोरखा पार्टी नेतृत्वले उनलाई रोक्ने प्रयत्न गरेको थियो । त्यसको झोकमा उनी निकट सयौ कार्यकर्ताले आइतबार भट्टराईलाई भब्य रुपमा स्वागत गरेका थिए ।



