काठमाडौं – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित अधिकांश सदस्यहरुले राजिनामा दिएका छन् ।
सोमबार प्रधानमन्त्री झलनाथ खनाललाई भेटेर उपाध्यक्ष जगदीशचन्द्र पोखरेलसहितका सदस्यहरुले राजिनामा दिएका हुन् । योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा गर्भनर नियुक्त भएपछि पोखरेल एक वर्षअघि कांग्रेस सिफारिसमा उपाध्यक्ष नियुक्त भएका थिए । नयाँ सरकारलाई काम गर्न सजिलो होस् भनेर राजिनामा दिएको आयोग पदाधिकारीहरुले जनाएका छन् ।
एमालेको सिफारिसमा आयोग सदस्य डा. गणेश गुरुङसहित सदस्यहरु आरडी सिंह, तिर्थराज खनियाँ, डा. चेतराज पन्त, डा. पुष्कर बज्रचार्यले राजिनामा दिएका हुन् । सिंह सदभावनाबाट र बाँकी कांग्रेसको सिफारिसमा आयोग सदस्य थिए ।
यसअघि नै तराई मधेस लोकतान्त्रिक पार्टीकोतर्फबाट सदस्य कमलेश्वर गोश्वामीले राजिनामा दिइसकेका थिए । आयोगमा सदस्य रहेका फोरम लोकतान्त्रिकका सुवोधनारायण झासहित एमालेका तीन सदस्य बाँकी छन् ।
आयोग पदाधिकारीहरुले सोमबार नै कर्मचारीहरुसँग पनि बिदाई भेट गरेका छन् ।



