काठमाडौं – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार माओवादीले झलनाथ खनाल नेतृत्वको आफूसम्मिलित सरकार चलाउन छुट्टै संयन्त्र बनाउने निर्णय गरेको छ ।
‘सरकार चलाउन छिट्टै संयन्त्र बनाउने निर्णय भएको छ,’ सोमबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने । गत माघ २० गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सात बुँदे सहमतिमा पनि सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने उल्लेख छ । संयन्त्रको नेतृत्व पहिले दाहालले गर्ने छन् ।
माओवादी पदाधिकारी बैठकले सरकारलाई पूर्णता दिन प्रधानमन्त्री खनालसँग छलफल गर्ने निर्णय गरेको छ । खनाल प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि सरकारले पूर्णता पाएको छैन ।
माओवादीले पूरक बजेट ल्याउनेसमेत निर्णय गरेको छ । पदाधिकारी बैठकअघि माओवादी नेताहरुले पार्टी निकट अर्थविदहरुसँग सोमबार छलफल गरेका थिए ।
यसैबीच पार्टी पदाधिकारी बैठकले घोषणा हुन लागेको नयाँ युवा दस्ता ‘जनस्वयंसेवक ब्युरो’लाई विकाश निर्माणको काम लगाउने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । ब्युरो घोषणा मंगलबार राजधानीमा गरिँदैछ ।



