आज देखि राजाका फोटो भएका नोटको कारोबार बन्द

काठमाडौ – नेपाल राष्ट्र बैंकले आज मङ्गलबारदेखि राजाका फोटो भएका नोटको कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैंकले कात्तिकको पहिलो साता पाँच महिनाभित्र राजाका फोटो भएका तथा झुत्रा नोट विस्थापित गर्ने निर्णय गरे अनुरूप सो निर्देशन दिएको हो ।

चल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षाका लागि पूर्वराजाको फोटो भएका नोट र अन्य झुत्रा नोट हटाउन लागेको भन्दै बैंकले सर्वसाधारणलाई आजसम्म आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थामा नोट साट्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले मङ्गलबारदेखि राजा भएको नोट अन्य बैंक तथा वित्तीय संस्थाले साटेमा त्यसको सट्टाभर्ना दिन आफू बाध्य नहुने जनाएको छ । रासस