काठमाडौ – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार नयाँ संविधान निर्माणमा देखिएका विवाद मिलाउन गठन गरेको उपसमितिको म्याद १५ दिन थप गरेको छ । संवैधानिक समितिको मंगलबार बसेको बैठकले उपसमितिको म्याद थप्ने निर्णाय गरेको हो । विवाद अन्त्यका लागि गठित उपसमितिको कामकारबाही प्रभावकारी रहेको भन्दै समितिले आगामी चैत्र १५ सम्मका लागि म्याद थप गरेको छ ।
समितिको बैठकले तोकीएको मितिमा उपसमितिले विवादित विषयमा सहमति जुटाउने विश्वास व्यक्त गरेको छ । फागुन मसान्त सम्मको समय सीमा पाएर गत फागुन १३ गते गठन भएको उपसमितिले न्याय प्रणाली व्यवस्थापकीय अंगको स्वरुप निर्धारण समिति लगायतका ४० वटा विषयमा सहमति जुटाएको थियो ।
संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले बाँकी दिनमा शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति जुटाउने विश्वास व्यक्त गर्दै राज्य पुनःसंरचनाको प्रतिवेदन समेत प्राप्त हुनेमा आशावादी रहेको बताए । बैठकमा उपसमितिका संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसमितिले जुटाएको सहमतिको प्रतिवेन पेश गरेका थिए ।



