मजदुर र कारखानाबीच भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै जनकपुर चुरोट कारखाना ठप्प


 

जनकपुर  – जनकपुरबाट प्राप्त समाचार अनुसार मजदुर समन्वय समिति र जनकपुर चुरोट कारखानाबीच भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै आक्रोशित मजदूरहरुले महाप्रवन्धक श्यामकुमार महतो चढ्ने गाडी खोस्नुका साथै आवासको विजुली पानी समेत काटेका छन । कारखानाको उत्पादन समेत ठप्प छ ।

समाचार अनुसार फागुन २५ गते भएको समझौताको कार्यान्वयन बारे जानकारी लिन मंगलवार विहान महाप्रन्धक निवास पुगेका मजदुर नेताहरुसंग महतोले दुर्व्यावहार गरे पछि आक्रोशित मजदुरहरु उनको सम्पूर्ण सुविधा काटेका हुन । उनीहरुले महाप्रवन्धक क्वाटरलाई घेराउ गरेका छन् । महाप्रन्धक महतो आफ्ना केही सहयोगीका साथ निवासमा लुकेर बसेका छन् । महाप्रवन्धक निवास अगाडि सुरक्षा व्यवस्था बढाईएको छ ।

मजदुर समन्वय समितीको मंगलवार विहान बसेको आकस्मिक बैठकले महाप्रवन्धक महतोको सम्पूर्ण आर्थिक तथा भौतिक सुविधा बन्द गर्ने निर्णय गरेको छ । समिति सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनका तेजनारायण साहले दिएको जानकारी अनुसार- समन्वय समितीको बैठकले महाप्रवन्धकको कुनै पनि लिखित वा मौखिक आदेश नमान्ने,सवारी साधन खोस्ने,आर्थिक तथा भौतिक सुविधा कटौती गर्ने तथा वरीष्ट कर्मचारीको नेतृत्वमा कारखाना संचालन गर्ने निर्णय गरेको छ ।

फागुन २५ गते भएको समझौतामा महाप्रवन्धक महतोले यसअघि लिदै आएको एक प्रतिशत बिक्री प्रवर्द्धन भत्ता नियमानुसार ठिक भए/नभएको ठहर गरी नियम विपरीत भए हाल सम्म खाएको रकम समेत फिर्ता गर्नु पर्ने निर्णय भएको थियो । यसै गरी निजामती कर्मचारी सरहको तलब मिलान,कच्चा पदार्थ तथा स्पेयर पार्टसको नियमित आपूर्ति,पूर्वाग्रही सरुवा,कार्यवाही र अनियमित भर्ना रोक्नु पर्ने लगायतका निर्णय भएको थियो । महाप्रवन्धकको रुपमा दोश्रो पटक असोज ३ गते हाजिर भएका महतोले नियम विपरीत  तरीकाले बिक्री प्रवर्द्धन वापत १ प्रतिशत रकम लिदै आएका हुन । कारखाना सम्बद्ध कामदारहरुले यसको विरोध गर्दै पटक पटक आन्दोलन पनि गरेका छन् । अख्तियारले पनि छानवीन गरी रहेको छ तर उनले अझै पनि बिक्री प्रवर्द्धन वापतको रकम बुझ्दै आएका छन् । 

नेपाल कारखाना श्रमिक संघका अध्यक्ष मदन ठाकुरका अनुसार महाप्रवन्धकले समझौता कार्यान्वय गर्ने तर्फ कुनै प्रयास गरेका छैनन । उनले भने-‘विरामी छु भन्दै कारखाना आउदैनन । कारखानाको गाडीमा धार्मिक कार्यक्रमहरु चहारी रहन्छन् ।’

चरम आर्थिक संकटमा रहेको जचुकालीले गत असोजमा नयाँ वानेश्वरस्थित क्षेत्रीय कार्यालय भवन र जग्गा ७२ करोडमा बिक्री गरेको थियो । सम्बद्ध मजदुर नेताहरुका अनुसार-जग्गा बिक्रीबाट आएको रकम पनि निर्धारित शीर्षकमा खर्च गरिएको छैन । श्रमिक संघका अध्यक्ष ठाकुरले भने-‘उनि-महाप्रवन्धक महतो)आएको आठ महिना भित्र ५१करोड अधिक खर्च भई सकेको छ तर कारखानाको उत्पादन बढेको छैन ।अवकासप्राप्त कर्मचारीहरुको निवृतिभरण,वीमा बुझाउन सकिएको छैन । कच्चा पदार्थको आपूर्ति हुन सकेको छैन ।

सम्बद्ध कर्मचारीहरुका अनुसार-७२करोडको अचल सम्पति बिक्री गरेर पनि जचुकालि झण्डै ५०करोड घाटामा छ ।