काठमाडौ – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार वाईसीएलको अर्धसैन्य संरचना भंग गर्न दबाब खेप्दै आएको माओवादीले मंगलबार पार्टी उच्च तहका नेताहरुको नेतृत्वमा रहेको अर्को युवा संगठन सार्वजनिक गरेको छ ।
मंगलबार पार्टी कार्यालय कोटश्वरमा अपरान्ह एक कार्यक्रमाकाबीच ‘जनस्वंयसेवक परिचालन ब्यूरो’ सार्वजनिक गरेको छ । संयोजक एवं माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले ‘जनस्वंयसेवक परिचालन ब्यूरो’ घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा नेता चन्दले जनस्वंयसेवक परिचालन ब्यूरो विकाश निर्माण र जनसुरक्षामा खटिने जानकारी दिए । उनले पार्टी भित्र र बाहिरका सबैलाई अटाउने गरी स्वंयसेवक परिचालन गरिने उल्लेख गरे । जन विद्रोहको कार्यनीति सफल पार्ने माओवादीको रणनीति अनुरुप स्वयंसेवक परिचालन गरिन लागेको अन्य दलको आरोप उनले खण्डन गरेका छन् ।
राष्ट्र र समाज सेवाका लागि गठन गर्न लागिएको ब्यूरोबारे आशंका नपाल्न उनले आग्रह गरे । ब्यूरोले युद्धकालमा ध्वस्त भएका भौतिक संरचनाको समेत पुनः निर्माण गर्ने चन्दको दाबी थियो । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित थिएनन् ।
ब्युरो घोषणअघि संगठनात्मक संरचनाबारे अन्तिम टुंगो लगाउन ब्यूरोको बैठक बसेको थियो । वाईसीएल, अखिल क्रान्तिकारी र अयोग्य लडाकुलाई समेत सहभागी गराएर सार्वजनिक भएको ब्यूरो पनि अर्ध सैन्य संरचनामा परिणत हुने धेरैको शंका छ ।
ब्युरोमा पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल, वाईसीएल अध्यक्ष गणेशमान पुनलगायतका नेताहरु छन् ।
तरुण दलको विरोध
कांग्रेसको संगठन तरुण दलले जनविद्रोहको धम्की दिँदै आएको माओवादीले अर्को अर्ध सैन्य संरचना सार्वजनिक गरेकोमा विरोध जनाएको छ ।
संविधान निर्माणको मिति नजिकिदैं गर्दा त्यस्ता अर्धसैन्य संरचना सार्वजनिक गरेर माओवादीेले शान्ति प्रक्रिया खाडलमा पार्न खोजेको दलहरुको टिप्पणी छ ।