ललितपुर – थाहा भए अनुसार पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको १३ औं दिनको पुण्यतिथि मंगलबार सकिएको छ । बुधवारको तेह्रौ दिनको धर्मिक काम गरेर नुन खान नहुने हिन्दू मान्यता अनुसार १२ औं दिन मंगलबार तह्रौंको काम गरिएको हो ।
तेह्रौं पुण्य तिथिमा बाडेगाँउस्थित भट्टराई आश्रममा श्रद्धाञ्जलीसभा गरिएको थियो । सभामा राजनीतिक दलका शीर्षस्थ नेता, सुरक्षा निकायका उच्च अधिकारीहरु तथा पेशाकर्मीहरु उपस्थित थिए । उनीहरुले भट्टराईको सादा जीवन र निष्ठाको राजनीतिको स्मरण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरे ।
कांग्रेस सभापति शुसील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, माओवादी नेता बाबुराम भट्टराई, एमाले नेताहरु बामदेव गौतम, प्रदीप ज्ञवाली लगायतले आश्रममा राखिएको किसुनजीको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जलीसभामा सेना र प्रहरीका उच्च अधिकारी सहित पेशाकर्मी पनि पुगेका थिए ।
भतिज प्रमोद भट्टराईले बाह्मणलाई दशदान दिनुका साथै तेहै्र दिनमा गर्नुपर्ने धार्मिक संस्कार मंगलबार सम्पन्न गरे । हिन्दु संस्कार अनुसार बाहृमण भोजन र शुभेच्छुकलाई प्रसाद वितरण गर्ने काम मंगलबार सम्पन्न भएको छ । तेह्रौंका अवसरमा आश्रम पुगेका विभिन्न गुम्बाका लामागुरुले प्रार्थना सभा गरे । दिँउसो १ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलीसभा राखिएको थियो ।



