जनविद्रोहको धम्की दिंदै आएका मधेसवादी तीन दलका अध्यक्ष एकसाथ नयाँदिल्ली भ्रमणमा


 

काठमाडौं – संचारमाध्यमहरुले उल्लेख गरे जनविद्रोहको धम्की दिंदै आएका मधेसवादी तीन दलका अध्यक्ष बुधबार एकसाथ नयाँदिल्ली गएका छन् । भारतीय सरकारको निमन्त्रणमा गएको बताउने तीनै नेताले नयाँदिल्लीमा शीर्ष नेताहरुसँग छलफल गर्ने बताए ।

‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन दललाई भारत सरकारबाट निमन्त्रणा आएको थियो,’ नयाँदिल्ली जानुअघि त्रिभूवन विमानस्थलमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकमार गच्छदारले बुधबार भने, ‘त्यसैले हामी सदभावना भ्रमणमा निस्किएका हौं ।’

गच्छदारले भ्रमणमा भारतीय शीर्ष नेताहरुसित छलफल हुने जानकारी दिए । ‘उहाँहरुले हामीलाई कुन-कुन नेताहरुसँग भेटाउनुहुन्छ, हामी उहाँहरुसँग भेट गर्छौं,’ उनले भने । भ्रमणमा फोरम (लोकतान्त्रिक) अध्यक्ष गच्छदारसहित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावनाका अध्यक्ष राजेन्द्र महतो छन् ।

बाम ध्रुविकरणको आशंका गर्दै आएका मधेसवादी दलले यस विषयमा पनि भारतीय नेताहरुसँग कुरा हुने संकेत गरे । ‘माओवादी अहिले पनि जनसंविधान भनिरहेको छ,’ सदभावना अध्यक्ष महतोले भने, ‘हामीले लोकतन्त्रका लागि आन्दोलन गरेको थोडा एकतन्त्रीय कम्युनिष्ट शासन स्थापनाका लागि हो ?’

माओवादी र एमालेको गठबन्धनबाट झलनाथ खनाल नेतृत्वको सरकार बनेपछि लोकतान्त्रिक शक्ति कमजोर बनेको भन्दै राजनीतिक परामर्शका लागि उनीहरु भारत गएको स्रोतले जनाएको छ । भारत गएका तीन वटै मधेसी दल वर्तमान सरकारमा सहभागी नहुने निर्णयमा अडिग छन् ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा भारत भ्रमण सकेर फर्के लगत्तै मधेसी नेताहरु एकै साथ भारत भ्रमणमा जानुलाई अर्थ पूर्ण मानिएको छ । भारतमा रहँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आई अध्यक्ष सोनिया गान्धी, विदेश मन्त्री एसएम कृष्णा लगायत शीर्ष नेतासँग मधेसी नेताहरुले भेटघाट गर्ने बुझिएको छ ।