पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले विगतमा आफू प्रधानमन्त्री हुँदा आफ्नै पार्टी भित्रबाट सरकार ढाल्ने काम भएको उल्लेख

रौतहट – प्राप्त समाचारमा जनाइए अनुसार पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधबकुमार नेपालले विगतमा आफू प्रधानमन्त्री हुँदा आफ्नै पार्टी भित्रबाट सरकार ढाल्ने काम भएको बताएका छन । 

गृह जिल्ला रौतहट आएका नेता नेपालले चन्द्रनिगाहपुरमा शुक्रबार सामुदायिक रेडियो नुनथरको उदघाटन गर्दै बिगतमा एमालेबाटै आफूलाई सरकार सञ्चालनमा सहयोग नभएको गुनासो पोखे । ‘मैले एक्काइस महिना सम्म खुट्टा कपाइन,’ भावुक हुँदै उनले भने, ‘राजा ज्ञानेन्द्रको शासन कालको सामना गर्दै ढालियो अरुको के कुरा ।’

उनले रोल्पाको जङ्गलबाट माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको दाबी गर्दै भने, ‘कस्ता कस्ता समस्या समाधान गरें त्यसैले आत्ति हाल्नु पर्ने कुरा छैन ।’ उनले राष्ट्रिय सहमतिको सरकारको लागि पहल भइरहेको जानकारी दिए ।

नेता नेपालले आफ्नो सरकारको बेला गएको जेठ १४ गते राजिनामाको बिषयमा पहिलो हस्ताक्षर गर्ने कांग्रेस नै भएको आरोप लगाउँदै आन्तिम घडिमा कांग्रेसले पनि धोका दिएको बताए । ‘महत्वपूर्ण घडिमा कांग्रेस समेत आफ्नो अडानमा अड्न सकेन,’ पूर्वप्रधानमन्त्री नेपालले भने ।