काठमाडौं – काठमाडौं स्थित केही नेपाली संचारमाध्यमहरुले व्यख्या गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शान्ति र संविधानको सुनिश्चितताका लागि भन्दै आगामी चैत १५ देखि देशव्यापी जनसंघर्ष घोषणा गरेको छ। चारदिनसम्म चलेको पार्टीको केन्द्रीय समिति तथा जिल्ला अध्यक्षको राष्ट्रिय सम्मेलनले ललितपुर घोषणापत्र जारी गर्दै चरणबद्ध संघर्षका कार्यक्रम ल्याएको हो।
आगामी चैत १५ देखि देशव्यापी प्रचारप्रसार, विभिन्न जिल्लामा प्रशिक्षण तथा देशका सम्पूर्ण जिल्ला, नगर र गाउँमा चैत १५ देखि वैशाख मसान्तसम्म घरदैलो र जागरण कार्यक्रम सञ्चालन गर्ने राप्रपा नेपालले जनाएको छ।
यसैगरी, नयाँ चुनावबारे जनचेतना अभिवृद्धि गर्न वैशाख मसान्तसम्म देशका ७५ वटै जिल्ला सदरमुकाममा आमसभा तथा कार्यकर्ता भेला, वैशाख १० देखि मेची-महाकाली मोटरसाइकल यात्रा गरी जेठ १ देखि राजधानी केन्द्रित जनसंघर्ष गर्ने निर्णय राप्रपा नेपालले गरेको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार पत्रकार सम्मेलनमा प्रमुख दलहरूको अकर्मण्यता र सत्तालिप्साका कारण थप गरिएको एक वर्षभित्र पनि संविधान बन्ने सम्भावना कम रहेकाले ताजा जनादेशका लागि नयाँ निर्वाचन मिति घोषणा गरिनुपर्ने बताए।