अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्बारा कूटनीतिक राहदानी दुरुपयोग गर्ने दुई सभासदमाथि छानबिन सुरु

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूटनीतिक राहदानी दुरुपयोग गर्ने दुई सभासदमाथि छानबिन सुरु गरेको छ । अख्तियारले सभासद्द्वय नेपाली जनता दलकी गायत्री साह र मधेशी जनअधिकार फोरमका वीपी यादवमाथि छानबिन सुरु गरेको हो ।

 

व्यवस्थापिका संसद र परराष्ट्र मन्त्रालयबाट ती दुई सभासद्को कूटनीतिक राहदानी दुरुपयोगको भएको आवाज उठेपछि संसद सचिवालयको अनुरोधमा अख्तियार र प्रहरी प्रशासनले उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

 

 अख्तियारले सभासद साहसित कूटनीतिक राहदानी दुरुपयोगका सम्बन्धमा आइतबार कार्यालयमा बोलाई बयान लिएको र छानबिन जारी रहेको जानकारी आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले दिए । अख्तियार स्रोतका अनुसार यादवसित समेत बयान लिइनेछ ।