काठमाडौं – संचारमाध्यममा उल्लेख भए अनुसार प्रधानमन्त्री झलनाथ खनालले दुई दिनभित्र सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । उनले मधेसी जनअधिकार फोरम र साना दललाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको डेढ महिना वितिसक्ता पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री खनालले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।
सरकारमा सहभागिताको विषयमा फोरमसँग सहमति भएको छ । बुधबार एमाले नेताहरुसँगको छलफलमा फोरम सरकारमा आउने निर्णयमा पुगे पनि औपचारिक निर्णय पार्टी बैठकपछि गर्ने बताएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘सामान्यतः मधेसका ‘इस्यु’हरुमा सहमति भयो,’ पाण्डेले सोमबार साँझ भने । उनका अनुसार फोरमसँग भएका कार्यान्वयन हुन बाँकी सहमति कार्यान्वयन गर्ने सहमति भएको छ ।
आत्मनिर्णय अधिकारसहितको मधेस प्रदेश माग जटिल रहेकाले यसलाई संविधानसभाबाटै टुंगोमा पुर्याउने सहमति भएको उनले जानकारी दिए । सहमतिमा सम्भवतः मंगलबार प्रधानमन्त्री झलनाथ खनाल र फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नेछन् ।
तर फोरम नेता रामसहाय यादवले मुद्दाहरुमा अझै द्विविधा रहेको बताउँदै एक दुई दिनभित्रै टुंगोमा पुगिने बताए । उनले मुद्दाहरुमा सहमति भएपछि सरकारमा जाने औपचारिक निर्णयमा पुगिने जानकारी दिए ।
गठबन्धनको प्रमुख घटक माओवादीले पनि दुई दिनभित्र नाम दिने वचन दिएपछि प्रधानमन्त्रीले फोरमलाई पनि समेटेर एकैबाजी सरकारलाई पूर्णता दिने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
‘माओवादीले सम्भव भए बुधबारसम्म नाम दिने भनेका छन्,’ खनाल निकट एक नेताले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटमा नेताहरु राजधानी बाहिर भएकाले मन्त्री छान्न नसकेको बताउँदै तीन दिनको समय मागेका थिए ।
माओवादी र फोरमबाट मन्त्रीहरुको नाम आए एमालेबाट पनि निर्णय गराएर प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारको तयारी गरेको बालुवाटार निकट स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्री खनालले तत्काल गृह मन्त्रालय आफैंसँग राख्ने र एमालेकै एक नेतालाई गृह राज्यमन्त्रीको जिम्मेवारी तयारी गरेका छन् ।
माघ २० गते प्रधानमन्त्री निर्वाचित खनाल सरकारमा अहिले एमालेबाट तीन र माओवादीबाट चार मन्त्री सहभागी छन् । आफूसँग पाँच मन्त्रालय राखेर प्रधानमन्त्रीले दुवै दलका सात मन्त्रीलाई बाँकी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।



